राजनीति

एमालेमा असन्तुष्ट इटहरीका मेयर चौधरीले माधव नेपालसँग गरे लन्च मिटिङ

By खबरहब

November 12, 2021

सुनसरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एमाले छाड्ने संकेत गरेका छन् ।

एमाले सुनसरीको नेतृत्वलाई लिएर असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग लन्च मिटिङ गरेका छन् ।

आफ्नै  घरमा चौधरीले नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतलाई खाना खुवाएका हुन् । सो क्रममा उनले इटहरी उपमहानगरभित्रको बाढी तथा डुबानको समस्या, छ लेन सडकमा भएको अवरोधसहितका विषयमा  ध्यानाकर्षण गराएका थिए ।

झण्डै दुई वर्षअघि पत्रकारको नाकको डाँडी भाँचिदिन्छु भनेर चर्चामा आएका चौधरी एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै दुईअघि फेरि चर्चामा आएका थिए ।

चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी बिहीबार मात्र समाजवादीका प्रदेश १ अध्यक्ष बलदेव चौधरीसँग पनि खाना खाएको फोटो सार्वजनिक गरेका थिए ।