मनोरञ्जन

घरकी आमाजस्तै फिल्मकी आमा !

By नेमिष गौतम

March 13, 2021

काठमाडौँ- राजधानीको चाबहिलस्थित गोपीकृष्ण हलमा दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘आमा’ हेरिरहँदा अभिनेता कृष्ण शिवाकोटीको आँखा पर्दामा भए पनि मन चाहिँ ८३ वर्षीया आमा गङ्गादेवीतिर थियो ।

फिल्मको कथामा एक जना वृद्ध विरामी अस्पतालमा हुन्छन् । उनका हेरचाह गर्छन् पत्नी र छोरीले ।

यही सार वरिपरिका फिल्मी दृश्यहरू हेरिरहँदा कृष्णले मन थाम्न सकेनन् । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा मधुमेहको उपचार गराइरहेकी बिरामी आमालाई केही बेरका लागि त्यहीँ छाडेर फिल्म हेर्न गएका थिए कृष्ण ।

उनी आधा जति फिल्म हेरेर निस्किए । कुनै हतार वा जरुरी काम परेर होइन, उनले मन थाम्नै सकेर हो ।

‘फिल्ममा अभिनय हेरिरहँदा त्यहाँभित्र मेरी आमा र मलाई नै पाएँ’, हालैको एक भेटमा कृष्णले भने, ‘फिल्म जति हेरेँ, त्यतिमै मनले थाम्न सकिनँ । बाँकी फिल्म पछि हेर्छु भन्ने सोचेर निस्किएँ ।’

एक दिनको कुरा हो । कृष्ण टेलिफिल्म ‘हल्का रमाइलो’ का लागि शूटिङमै थिए । त्यहीबेला घरबाट ‘आमा सकिनुभयो’ भन्ने खबर आयो । उनी हतारहतार घर पुगे ।

घटनाबारे कृष्णले भने, ‘आमा सकिनुभयो भनेर घर पुग्दा शरीरको सुगर लेभल चाहिँ सकिएको रहेछ, मह चटाइदिएपछि आमा फर्किनुभयो ।’

कोरोना भाइरसका कारण गत वर्षको चैत ११ गतेदेखि लकडाउनले भएपछि सबैसरह फिल्म कलाकारहरू पनि घरभित्रै थन्किए । कतिपयले खानाका परिकार बनाउन बनाउन सिके । घरको सरसफाइ गरे । नयाँ पुस्तक पढे । कृष्णका लागि भने आमाको स्याहारसुसारको अवसर बन्यो ।

‘लकडाउनमा आमाको सेवा गर्न पाएँ, त्यो मेरा लागि सुनौलो अवसर बन्यो । लकडाउन नभएको भए आमालाई त्यति हेर्न पाउँने थिइनँ होला’, केही भावुक मुद्रामा उनले भने, ‘लकडाउनमै आमा गम्भीर बिरामी हुनुभयो । चौबीसै घण्टा आमाको सेवा गरेँ ।’

उनी आमालाई युट्युबबाट भजन, गायत्री मन्त्र, महामृत्युञ्जय मन्त्र र श्रीमद्भगवद्गीता सुनाउँथे ।

उच्च रक्तचाप र मधुमेहकी रोगी आमाको अवस्था निकै गम्भीर भयो । कृष्णले भने, ‘दुईपटक तुलसीको मोठमा सार्‍यौँ । बैतर्नी गौदान पनि गरिदियौँ ।’

अहिले कृष्णकी आमाको स्वस्थ्य सुधार भएको छ । नियमित प्राणायाम गर्ने बानीले आमाको आत्मविश्वास र रोग प्रतिरोधात्मक क्षमता बढेको अनुमान कृष्णले गरेका छन् ।

मधुमेहले सिकाएको पाठ

कृष्णको अनुभवअनुसार मधुमेहका बिरामी र आफन्त बिरामीको शरीरमा चिनी कम हुँदै गएपछि अथवा शून्य भएपछि आत्तिदा रहेछन् । उनी भन्छन्, ‘यस्तो बेलामा मह जिब्रोमा चटाइदिँदा मान्छे फर्किहाल्दो रहेछ । सुगरका बिरामी भएका घरका मान्छेले यति कुरा बुझे भने सजिलो हुन्छ ।’

उनको अनुभवअनुसार चिनी र चकलेट खुवाउँदा पनि हुन्छ तर शरीरमा गुलियोको मात्रा पुग्न महभन्दा बढी समय लाग्छ । कृष्णले आजकल हरेक दिन बिहान आमालाई कागतीपानीमा मह मिसाएर खुवाउने गरेका छन् ।

आमासँग भलाकुसारी

व्यस्त दिनचर्या र सुविधाभोगी जीवनले परिवारजनसँग घुलमिल हुने समय कम हुँदै गएको कृष्णको बुझाइ छ । अझ, घरका वृद्ध सदस्य त एक्लो अनुभव गर्न थालेका छन् ।

‘घरमा वृद्ध बाबुआमासँग एकछिन भए पनि समय निकालेर कुराकानी गर्नुपर्नेरहेछ’, कृष्ण भन्छन्, ‘उहाँहरूलाई बोलाउने र उहाँहरूको पालामा के के भएको थियो भनेर स्मरण भन्न लगाउने गर्दा अनुहारमा चमक हेर्न पाइँदो रहेछ ।’

आमाको चासो

आमालाई कृष्णको अभिनयमा चासो छ । उनी आमालाई युट्युबमै आफूले अभिनय गरेका टेलिफिल्म र फिल्म देखाउँछन् । उनी भन्छन्, ‘मेरो कलाकारिताबाट आमा एकदमै खुसी हुनुहुन्छ । मेरो काममा उहाँको चासो धेरै छ ।’

बुबाको प्रेरणा

‘सम्पत्ति’ बाट अभिनय सुरु गरेका कृष्णले हालसम्म करिब ८० वटा फिल्ममा अभिनय गरेका छन् । टेलिफिल्म त गनेर साध्य नै छैन । पिता वेदप्रसाद शिवाकोटीलाई उनी आफ्नो अभिनयको प्रेरणास्रोत मान्छन् ।

बैंकका जागिरे उनका बुबा जागिरका क्रममा भोजपुर, खोटाङलगायतका जिल्लामा पुगे । कृष्ण पनि बुबासँगै त्यहाँ पुग्थे । विद्यालयमा हुने कार्यक्रममा नाच्न अघि सर्थे ।

‘बुबा राम्रो कलाकार हुनुहुन्थ्यो; हसाउन, गाउन र नाँच्न खप्पिस । विदेशबाट कोही पाहुना आउँदा राजाले खुकुरी नृत्य देखाउन इलामबाट बुबाको टोली झिकाउँथे’, कृष्ण भन्छन्, ‘बुबाको कलाको १० प्रतिशतमात्रै ममा सरेको भए म ठूलो कलाकार हुन्थेँ ।’

कृष्णका बुबाले गाएको गीत २०१३ सालमै रेडियो नेपालमा रेकर्ड भएको थियो । मधुमेहका कारण मिर्गौला बिग्रिएपछि २०६१ सालमा उनका बुबाको निधन भयो ।

अभिनय यात्रा

असई पदबाट प्रहरी सेवा सुरु गरेका कृष्णले डिएसपीबाट अवकास लिए । प्रहरी अधिकृत हुँदा पनि उनी आफूलाई ‘कलाकार’ नै ठान्थे ।

नेपाल टेलिभिजन स्थापना भएपछि नेपाल प्रहरीले ‘प्रहरी अनुरोध’ नामक चेतनामूलक कार्यक्रम सुरु गर्‍यो । यो कार्यक्रममा उनले अभिनयको मौका पाए । उनले तीन वर्ष ‘प्रहरी अनुरोध’मा काम गरे ।

कृष्णले ‘मदनबहादुर हरिबहादुर’, ‘तितो सत्य’, ‘हल्का रमाइलो’, ‘हिजोआजका कुरा’ लगायतका धेरै टेलिफिल्ममा अभिनय गरेका छन् । उनी भन्छन्, ‘कमेडी टेलिफिल्म गर्दा दर्शकले सम्झिँदा रहेछन् ।

मैले सामाजिक र पारिवारिक टेलिफिल्ममा पनि धेरै गरेँ तर कमेडीमा मेरो पात्र दर्शकको दिमागमा बसिरह्यो ।’

सधैँ प्रहरी

नेपाल प्रहरीमा तीस वर्ष सेवा गरेर अवकाश लिएपछि पनि कृष्णलाई प्रहरीको पोशाकले छाडेको छैन । फिल्मका लेखक, निर्देशक होउन् वा टेलिफिल्मका नै किन नहोउन्, प्रहरी पात्रको संवाद लेख्दा कृष्णलाई नै सम्झन्छन् ।

उनी भन्छन्, ‘मलाई अभिनयमा ल्याउनुको स्वार्थ पनि छ । म प्रहरी हुँदा यसलाई प्रहरीको भूमिकामा लिएपछि प्रहरीको पहिरन ल्याउन सक्छ भन्ने आशा युनिटसँग हुन्थ्यो । अहिले पनि प्रहरीको रोल भनेपछि लेखकलाई मेरै नाम सम्झना आउँछ ।’

निर्देशकबारे बुझाई

निर्देशकको योग्यता के हो भन्ने एउटा बहसको विषय बन्न सक्ला । कृष्णको बुझाइमा निर्देशकलाई कुनै कलाकारले यो अभिनय गर्न सक्छ भन्ने विश्वास हुनुपर्नेछ ।

‘दुई थोपा आँशुमा संवादविहीन एउटा दृश्य थियो । एउटा कारबाट ब्रिफकेस बोकेर ओर्लिएर हिँड्ने दृश्य थियो । म कार्पेट फ्याक्ट्रीको मालिकको भूमिकामा थिएँ,’ कृष्ण सम्झन्छन्, ‘मलाई निर्देशक तुलसी घिमिरेले बोलाउनुभयो, ब्रिफकेस बोकेर यस्तो हेरिदिनुहोस् कि दर्शकले ‘वाह ! क्या हेर्‍यो यार यो मान्छेले भनून् भन्नुभयो ।’

निर्देशक ऋषि लामिछानेको टेलिफिल्म ‘दृष्टि’ मा उनले मन्त्रीको भूमिकामा अभिनय गरेका छन्, जसको चरित्र नकारात्मक हुन्छ ।

कृष्ण भन्छन्, ‘ऋषिजी हरेक कलाकारलाई यसरी गर्नुपर्छ है भनेर आफैँ गरेर देखाउनुहुन्छ । म यस्तो गर्छु भनेर सोचिरहे पनि उहाँले अलिक फरक किसिमले गर्नुहुन्छ ।’

कृष्णलाई ऋषिको काम गर्ने शैली खुब मनपर्छ ।