इनसाइट/स्पेशल

दिगो पर्यटन परियोजना : एकदिनमै ३ सय भन्दा बढी मजदुर आवद्ध

By खबरहब

September 13, 2021

काठमाडौँ– पर्यटन क्षेत्रमा आवद्ध रहेका र रोजगारी गुमाएका मजदुरको जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना आइतवार सुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको उक्त परियोजना अन्तर्गत आइतबारबाट काठमाडौँका विभिन्न स्थानकमा एकैसाथ काम सुरु भएको हो ।

परियोजनाले टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा सयजना, चन्द्रागिरीको मातातिर्थमा सय जना र स्मारक प्रकृती प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई काममा लगाएको छ ।

यस्तै होटल एसोसिएशन नेपाल (हान) सँगको समन्वयमा ४० जना बढिले काम सुरु गरेका छन् ।

आइतवारमात्र करिब तीन सय बढि पर्यटन क्षेत्रका श्रमिक तथा मजदूर काममा जोडिएका छन् ।

यस्तै परियोजना अन्र्तगत काठमाडौँ कै कीर्तिपुर र काठमाडौँ बाहिरका पर्वतको जलजला, सखुवासभाको चिचिलाका गरी करिव २ सय ५० जना श्रमिकहरु काममा आवद्ध भएको परियोजनाले जानकारी दिएको छ ।

परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाहरूका साथै काठमाडौँको कीर्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुङगा एक एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिसकेको पर्यटन बोर्डले जनाएको छ ।

दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ ।

विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पुर्‍याइने परियोजनाको लक्ष्य छ ।

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।

परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ्ग) गरिने नदी, ट्रेकिङ्ग ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

चन्दागिरीमा आयोजित कार्यक्रममा चन्दागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछाने लगायतले काम शुभारम्भ गराएका हुन् ।

परियोजना अन्र्तगत पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार लगायतका काम दिइएको छ ।

यी कार्यमा संलग्न गराई ६४ हजार कार्य दिन (मेन डेज ) बराबरको रोजगारी प्रदान गरिने लक्ष्य अनुरुप काम सुरु गरिएको संयोजक लामिछानेको भनाइ छ ।

आगामी दिनका क्रमशः अन्य स्थानीय तह तथा संघ संस्थाहरुसँग सम्झौता गर्दै काम अगाडि बढाइने लक्ष्य परियोजनाले लिएको छ ।