काठमाडौँ– ‘धेरै राम्रो लागेको छ’ नोबेल पुरस्कार विजेता उपन्यासकार अब्दुल रजाक गुरनाह भन्छन्, ‘धेरै जना भेट्न आउँदा भ्याई नभ्याई भएको छ ।’
धेरै जना भेट्न आउँदा आफू धेरै व्यस्त रहेको तथा नयाँ उमङ्ग र जोस छाएको पनि उनको भनाइ छ । कपाल फुलेर सेतै भएका ७३ वर्षीय यी उपन्यासकारको जोसजाँगर अहिले पनि युवाको जस्तै छ ।
युनिभर्सिटी अफ केन्टका अवकाश प्राप्त यी प्राध्यापक दश वटा उपन्यासका लेखक हुन्, अहिले एकाएक सेलिब्रेटी बनेका छन् । नोबेल पुरस्कारको ५० वर्षे इतिहासमा यो सफलतामा पुग्ने गुरनाह चौथो अश्वेत नागरिक हुन् ।
तान्जानियाको जन्जिबारमा सन् १९५० देखि १९६० सम्म उनको बाल्यकाल बितेको थियो । सन् १९६९ देखि यो बेलायत अधीनस्थ थियो । प्रत्यक्ष शासन थिएन तर निगरानी बेलायतकै थियो ।
एक शताब्दीअघि त्यहाँको अवस्था फरक थियो । त्यो एउटा व्यापारिक हब थियो खास गरेर अरब विश्वका लागि । समृद्धिको केन्द्र हुने त्यो तान्जानियाको अवस्था फरक हुँदै थियो । साम्राज्यवादको चपेटामा तान्जानिया परेको थियो, गैरप्रजातान्त्रिक शासन भोग्न बाध्य थिए नागरिकहरू ।
सन् १९६३ मा जन्जिबार स्वतन्त्र भएको हो । तर, यसको एक वर्षपछि यसका शासक सुलतान जमसिद बर्खास्त गरिए । यसरी जन्जिबारमा विद्रोह हुँदा गुरनाह १८ वर्षका थिए । उनी किशोरावस्थामै बेलायत पुगे, त्यहीँ अध्ययन गरे । पछि त्यहीँ कलेजका प्रतिष्ठित प्राध्यापक बने र साहित्यकार भए ।
आफ्नो देशको राजनीतिक आर्थिक र सामाजिक दुरवस्था तथा बारम्बार फरक पुस्ताले भोगेका यातना र दुःख उनको मनबाट हटेन । बेलायतमा रहँदा पनि उनी यसका जानकार थिए । सन् २००१ मा गुरनाहले लेखेअनुसार त्यहाँ भएको क्रान्तिमा हजारौँ मानिस मारिएका थिए । धेरै समुदाय क्षतविक्षत भए । हजारौँ मानिसहरू जेल हालिए ।
अङ्ग्रेजी साहित्यका प्राध्यापक उनी सन् १९८६ मा ओल सोयिन्कापछि यो पुरस्कार पाउने अर्का अश्वेत हुन् ।
गुरनाहले साम्राज्यवादको प्रभाव वर्षौंसम्म कसरी पर्ने रहेछ भनेर आफ्नो लेखनमार्फत प्रस्तुत गरे । उनै गुरनाह यस वर्ष साहित्यमा नोबेल पुरस्कारका लागि छाननिए ।
स्वीडिस एकेडेमीले प्रदान गर्ने यो पुरस्कार रकम १ करोड १४ अमेरिकी डलर रहेको छ । गुरनाहका प्याराडाइज र डिजरटन सर्वाधिक लोकप्रिय पुस्तक हुन् ।
बीसौँ शताब्दीको सुरुवातमा तान्जानियमा हुर्किएको एक युवाको जीवनमा आधारित प्याराडइज सन् १९९४ मा प्रकाशनमा आएको थियो । यो पुस्तकले बुकर पुरस्कार पाएको थियो । यसैबाट उनको उपन्यास लेखन यात्राले निरन्तरता पनि पाएको थियो ।
‘अब्दुल रज्जाक गुरनाहको सत्यप्रतिको प्रतिबद्धता सहनीय छ,’ नोबेल कमिटी फर लिट्रेचरले उल्लेख गरेको छ ।
संसारका धेरै क्षेत्रमा अपरिचित रहेको पूर्वी अफ्रिकी जीवनलाई उनले आफ्ना उपन्यास मार्फत सशक्त ढङ्गले प्रस्तुत गरेका छन् । नोबेल एकेडेमीको गुरनाहप्रति औपचारिक धारणामा ‘उनले आफ्ना पात्रमार्फत राज्यले कहिल्यै समाधान गर्न नसकेको महादेश र संस्कृति तथा त्यो समयको पुस्ता र अहिले बढ्दै गरेको पुस्ताबीचको विरोधाभासमाथि बलियो प्रहार गरेका छन्’ भनेको छ ।
जन्जिबारमा सन् १९४८ मा जन्मिएका गुरनाह शरणार्थीको रूपमा ६० को दशकको अन्त्यमा बेलायत पुगेका हुन् । अङ्ग्रेजी साहित्यका प्राध्यापक उनी सन् १९८६ मा ओल सोयिन्कापछि यो पुरस्कार पाउने अर्का अश्वेत हुन् ।
गुरनाहले आफूले पुरस्कार पाउनुको पाउनुको मतलब साम्राज्यवाद र शरणार्थीको जीवनबारे आफूले भोगेको यथार्थ छलफलको विषय बनेको प्रतिक्रिया दिएका छन् । ‘हाम्रा जीवनमाथि दैनिक केही समस्या छन् । मान्छे मरिरहेका छन् र घाइते भएका छन् ।
यिनीहरूमाथि दया राखेर समस्याको समाधान खोज्नु पर्छ,’ पूर्वीअफ्रिकी जीवनको वर्षौंदेखिको समस्याका बारे उनी भन्छन्, ‘संयोगवश म शरण खोज्दै बेलायत आइपुगेँ । थुप्रै आतङ्कित राज्यमा अहिले पनि धेरै जना प्रताडित भइरहेका छन् ।’
उनका विचारमा ६० को दशकमा भन्दा अहिलेको संसार धेरै हिंसात्मक छ । सन् २०१६ मा उनलाई औपनिवेशिक लेखक या विश्वस्तरीय साहित्यकारमध्ये कुन परिचय मन पर्छ भन्ने प्रश्न सोद्धा आफूलाई कुनै खास विशेषको लेखकका रूपमा चिनाउन आवश्यक नरहेको प्रतिक्रिया दिएका थिए ।
उनले आफू आफ्नै नामबाट मात्र चिनिन चाहेको बताउने गरेका छन् । सन् १९०१ देखि प्रदान गर्न थालिएको नोबेल पुरस्कार गत वर्ष साहित्यतर्फ अमेरिकी कवि लाउसी ग्लकले जितेका थिए ।
एक शताब्दीअघि दिन सुरु भएको साहित्यको नोबेल पुरस्कार सम्बन्धी केही रोचक तथ्य पनि नरहेका होइनन् । हालसम्म सबैभन्दा कम उमेरमा साहित्यको नोबेल पुरस्कार पाउनेमा रुडयार्ड किपलिङ हुन् । उनले १९०७ मा ४२ वर्षको उमेरमा उक्त पुरस्कार पाएका थिए ।
गुरनाहले साम्राज्यवादको प्रभाव वर्षौंसम्म कसरी पर्ने रहेछ भनेर आफ्नो लेखनमा प्रकाश पारे । उनी नोबेल पुरस्कार पाउने चौथो अश्वेत हुन् । उनले संसारमा अपरिचित झैँ रहेको पूर्वीअफ्रिकी जीवनलाई आफ्ना उपन्यासमा सशक्त ढङ्गले प्रस्तुत गरेका छन् ।
यसै गरी सबैभन्दा बढी उमेरमा साहित्यको नोबेल पुरस्कार पाउने डोरिस लेसिङ हुन् । सन् १९०४ मा फ्रेडेरिक मिस्ट्राल र जोसे इचेगेरी तथा १९१७ मा कार्ल जेरप र हेनरी कपोन्टोपेडानबीच पुरस्कार बाँडफाँड भएको थियो । सन् १९६६ मा स्युमल एगनन र नेली साँच तथा १९७४ मा एभिन्ड जोन्सन र हेरी मार्टिन्सनले बाँडफाँड गरेका थिए ।
पहिलो पटक साहित्यको नोबेल पुरस्कार पाउने महिला सेल्मा लेगरफ हुन् । उनले सन् १९०९ मा पुरस्कार पाएकी हुन् । पछि उनी अन्य नोबेल पुरस्कार छनोट गर्न स्वीडिस एकेडेमीमा छनोट भएकी थिइन् ।
अहिलेसम्म दुई जनाले नोबेल पुरस्कार बहिस्कार गरेका छन् । सन् १९५८ मा उनको देश रुसले पुरस्कार बहिस्कार गर्न दबाब दिएका कारण पास्तारनकले बहिस्कार गरेका हुन् ।
यसै गरी, कुनै अफिसियल पुरस्कार नलिने घोषणा गरेका जाँ पाल सात्र्रले १९६४ को नोबेल पुरस्कार बहिस्कार गरेका थिए ।
अहिलेसम्म दुई जनालाई मरणोपरान्त साहित्य नोबेल पुरस्कार प्रदान गरिएको छ । सन् १९३१ मा एरिक एक्सेल कार्ल फेल्ड तथा सन् १९७४ मा डाग ह्यामरजकोल्डलाई यो पुरस्कार प्रदान गरिएको थियो । पछि नोबेल एकेडेमीले यसरी मरणोपरान्त पुरस्कार दिने प्रचलन घोषितरूपमै बन्द गरियो ।
अहिलेसम्म १४ जना महिलाले साहित्यको नोबेल पुरस्कार पाएका छन् । सन् २०१५ मा स्वेतलाना एलेक्सिविचले यो पुरस्कार पाएकी थिइन् । सन् १९४८ मा बेलारुसमा जन्मिएकी यी सञ्चारकर्मीले उनका पुस्तकले सुरुमा रुस तथा पछिल्लो समय बेलारुसको राजनीतिक सत्ताको आलोचना गरेको छ ।
क्यानडाकी सर्ट स्टोरी लेखिका एलाइस मुनरोले २०१३ मा ‘मास्टर अफ द कम्टेम्पोररी सर्ट स्टोरी’ ले साहित्यको नोबेल पुरस्कार पाएको हो । उनका धेरै पुस्तकमा सम्बन्धमा देखिएको समस्या र नैतिक सवालका विषय उठान गरिएका हुन्छन् । सन् २००९ मा उनले बुकर इन्टरनेसनल पुरस्कार पनि पाएकी थिइन् ।
अहिलेसम्म दुई जनाले नोबेल पुरस्कार बहिस्कार गरेका छन् । सन् १९५८ मा उनको देश रुसले पुरस्कार बहिस्कार गर्न दबाब दिएका कारण पास्तारनकले बहिस्कार गरेका हुन् ।
सन् १९५३ मा जर्मनीमा जन्मिएकी हर्टा म्युलरले सन् २००९ को साहित्यको नोबेल पुरस्कार पाएकी थिइन् । उनका कविताहरूले अल्पसङ्ख्यक र कमजोरहरूको भावनाको प्रतिनिधित्व गर्ने गरेको थियो ।
सन् १९१९ मा जन्मिएकी डोरिसा लेसिङले सन् २००७ मा साहित्यको नोबेल पुरस्कार पाएकी थिइन् । बेलायतमा जन्मिएकी उनी बहुमुखी प्रतिभाकी धनी थिइन् ।
उनी नर्स, टेलिफोन रिसप्निस्ट, सञ्चारकर्मी तथा सर्ट स्टोरी लेखिका हुन् । उनको उपन्यास गोल्डेन नोट बुक अत्यन्त लोकप्रिय रहेको थियो ।
सन् १९४६ मा जन्मिएकी अल्फ्रेड जेलेनिकले सन् २००४ को नोबेल पुरस्कार पाएकी थिइन् । यसै गरी, पोल्यान्डकी विस्लावा स्जिमोरबस्काले सन् १९९६ को पुरस्कार पाएकी थिइन् । सन् १९९३ मा टोनी मोरिसनले यो पुरस्कार पाएकी हुन् ।
सन् १९९१ नाडाइन गोर्डिर तथा १९४५ मा गाब्रियल मिसट्रायलले यो पुरस्कार पाए । सन् १९३८ मा पर्ल बकले यो पुरस्कार पाएकी थिइन् । सन् १९६६ मा नेली साँच, सन् १९६८ मा सिग्रीट उन्डसेट, १९२६ मा गाब्रियल डेलेडा र सेल्मा लेगरलफले सन् १९०९मा यो पुरस्कार पाएका थिए ।
नोबेल पुरस्कारका धेरै आयामहरू हुन सक्छन् । साहित्यको नोबेल पुरस्कार विजेता पुस्तक या साहित्यकारले समाजको एउटा हिस्साको सिङ्गो चित्रण पक्कै गरेका छन् । यस पटक पुरस्कार पाउने पालो तिनै पूर्वीअफ्रिकी समाज र साम्राज्यवादले त्यहाँको जीवनमा ल्याएको समस्यालाई प्रस्ट गर्न सफल अब्दुल रजाक गुरनाहको भयो ।