आर्थिक

थप चार ठाउँमा मेगा बैंकका शाखारहित सेवा

By खबरहब

November 13, 2021

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका थप चार ठाउँमा  शाखारहित सेवाको विस्तार गरेको छ ।

मेगा बैंकले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका–१, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउपालिका–१, चौतारा साँगाचोकगढी नगरपालिका–४ र धादिङ जिल्लाको ज्वालामुखी गाउपालिका–२ सातदोबाटोमा शाखारहित बैंकिङ सेवा  विस्तार गरेको हो ।

शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहामा प्रवीनकुमार मेहता, पाँचपोखरी थाङपालमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढीमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउपालिका, सातदोबाटोमा  नारायणप्रसाद सिम्खडालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवा अन्तर्गत बैंकले नियुक्ति गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने व्यवस्था गर्ने; खातामा रकम जम्मा गर्ने, झिक्ने; नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधा हुनेछ ।

सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पनि प्रतिनिधिले सहयोग गर्नेछन् ।

बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच पुर्‍याउने उद्देश्यले ‘हलोदेखि हाइड्रोसम्म’ सेवा पुर्‍याउने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कुरा विज्ञप्तिमा जनाइएको छ ।

शाखारहित बैंकिङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण औजारको रुपमा रहेको मेगा बैंकले जनाएको छ ।