बलिउड/हलिउड

१३ वर्षपछि स्वतन्त्र भइन् ब्रिटनी

By खबरहब

November 13, 2021

लसएञ्जल्स(आजतक)– हलिउड गायिका ब्रिटनी स्पीयर्स १३ वर्ष पछि पिता जेम्स स्पीयर्सको कन्जरभेटरशीपबाट स्वतन्त्र भएकी छन् । लसएञ्जल्स काउन्टी सुपेरियर कोर्टका न्यायाधीश ब्रेडा पेनीले पपस्टार ब्रिटनीको कन्जरभेटरसिपलाई अन्त्य गर्ने फैसला सुनाएपछि उनी स्वतन्त्र भएकी हुन् ।

१३ वर्ष यता ब्रिटनी पिताको कन्जरभेटरसिपमा थिइन् । जसकारण उनका पिता जेम्सले ब्रिटनीको व्यावसायिक, सामाजिक र आर्थिक सबै निर्णय आफैं लिन्थे । ब्रिटनीका वकिल मेथ्यु रोजेनगार्टले यो फैसला ब्रिटनीका लागि अविस्मरणीय दिन भएको बताए ।

ब्रिटनीका पिता जेमी १३ वर्षयता ब्रिटनी र उनको ६० मिलियन डलरको सम्पत्तिको संरक्षक थिए । गत सेप्टेम्बरमा अदालतले ब्रिटनीको कन्जरभेटरशिपबाट जेमीलाई निलम्बन गरेको थियो । ब्रिटनीले पिता र परिवारमाथि कन्जरभेटरसिपको नाममा आफूमाथि गलत व्यवहार गरिएको आरोप लगाएकी थिइन् ।

ब्रिटनीको मेण्टल ब्रेकडाउनपछि सन् २००८ बाट यो कन्जरभेटिभको सुरुवात गरिएको थियो । ब्रिटनीले पितामाथि मानसिक शोषण, घरमा कैद, निजी जीवनमा केही गर्न नदिएको, पैसा आफूले राख्ने गरेको र आफ्नो विवाह र सन्तान जन्माउन नदिएको गम्भीर आरोप लगाएकी थिइन् ।