राजनीति

सरकारले जनताका पक्षमा काम गरिरहेको छ: अर्थमन्त्री शर्मा

By खबरहब

November 13, 2021

कास्की– अर्थमन्त्री जनार्दन शर्माले सरकारले जनताको पक्षमा काम गरिरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्तासँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले सरकारले जनताको पक्षमा गरेका राम्रा कामको प्रचार प्रसार गरी त्यसलाई संगठन विस्तारमा लगाउन कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।

सरकारले गरिबको पक्षमा, बिरामीको पक्षमा, दलितको पक्षमा, महिलाको पक्षमा, शहीद परिवारको पक्षमा, घाइते अपाङ्गता भएकाको पक्षमा अभूतपूर्व काम गरेको भन्दै उनले ती कामलाई पार्टी संगठन निर्माणमा उपयोग गर्न उनले आग्रह गरे।

यसैबीच पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका छन् ।

उनले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस्। मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्,’ उनले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारको काँधमा छ।’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गरेका हुन्।