फाइल फोटो

राजनीति

१०औँ महाधिवेशनले सर्वसम्मत रुपमा केपी ओली नै अध्यक्ष बनाउँछ: रायमाझी

By खबरहब

November 13, 2021

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले १०औँ महाधिवेशनले सर्वसम्मत रुपमा केपी ओली नै अध्यक्ष बनाउने बताएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले केपी ओली नै सर्वसम्मत अध्यक्ष बन्ने बताए ।

उनले भने, ‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रुपमा सम्पन्न गर्यौँ, विधान पनि सर्वसम्मतिले पारित गर्यौँ। अब नेतृत्व चयन गरिने हो । मंसिर १० गते उद्घाटन हुन्छ । अब पार्टीमा नयाँ नेतृतवको निर्माण गर्छौँ । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ ।’

उनले आगामी महाधिवेशनमा आउने प्रतिनिधिहरूको निर्वाचन मूलतः आज सम्पन्न हुने बताए । उनले भने, ‘एकाध, जिल्ला बाँकी रह्यो भने भिन्न कुरा हो । तर, एकै दिन २ हजार प्रतिनिधि आज निर्वाचित हुँदैछन् । ७७ वटै जिल्लामा प्रतिनिधिहरु छान्न सक्ने हैसियत राख्ने पार्टी एमालेमात्रै हो । यो पार्टी एकताकै निरन्तरतामा छ । हामीले वडाको अधिवेशन एकै दिनमा गर्यौँ । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरेको छ। अब संगठन विस्तारमा अघि बढ्छौँ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर अघि बढ्छौँ ।’

साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे । तर, आफूहरूको लागि यो नौलो कुरा नभएको उनको प्रतिक्रिया छ । उनले भने, ‘यो नौलो कुरा होईन् । यो सरकार देशको विकास र समृद्धि गर्न आएको नै होईन । यो त जनतामाथि महँगी थुपार्न, अन्याय र अत्याचार गर्न आएको हो । यो कुरा दुनियाँलाई थाहा छ, अहिले विकास र समृद्धिको विषयमा कुनै चर्चा छ त ? यदि चर्चा छ भने त्यो कि महँगीको विषयमा चर्चा छ, कि जनतामाथि सरकारले अत्याचार गरेको विषयमा चर्चा छ । सरकार त न्यायालय ध्वस्त पार्नतिर उद्धत छ ।’

उनले न्यायालयलाई ध्वस्त पार्न सरकार नै लागिरहेको आरोप लगाए । जनताको अधिकार ध्वस्त पार्न सरकार मतियारको रुपमा काम गरिरहेको रायमाझीको भनाइ छ ।