राजनीति

कांग्रेस मतदानस्थलमा पत्रकारलाई प्रवेश रोक, विरोधस्वरुप क्यामेरा डाउन

By खबरहब

December 13, 2021

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।

भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा भएको मतदान प्रकृयाको रिपोटिङमा पुगेका पत्रकारलाई अवरोध गरिएको हो । प्रहरी र निर्वाचन समितिले अवरोधपछि पत्रकारहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका छन् ।

निर्वाचन समितिले माइकिङ गरेर पत्रकारलाई हटाउन भनिएको थियो । त्यसअघि निर्वाचन समिति, प्रहरी र पत्रकारबीच भनाभन हुने क्रममा धकेलाधकेल पनि भएको जनाइएको छ ।

साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए।

पत्रकारहरुले लिखित माफी माग्नुपर्ने माग गरेका छन् । महाधिवेशन स्थलमा उपस्थित पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन्।