कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान जारी (Live)

By खबरहब

December 13, 2021

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान जारी छ । बिहान साढे ११ बजे शुरू भएको मतदानमा दिउँसो २ बजेसम्म ६०० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ-शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

हेर्नूहोस् मतदानस्थलको भिडियो