फाइल फोटो

आर्थिक

शेयर बजारमा ७९ अंकको गिरावट, प्रचण्डको अभिव्यक्तिले लगानीकर्ता निराश

By खबरहब

December 13, 2021

काठमाडौँ– लगातार घटिरहेको शेयर बजारलाइृ थप नकरात्मक प्रभाव पार्ने सत्ता गठबन्धनको एक महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आयो। जसको प्रभाव सोमबारको शेयर बजारमा परेको छ ।

सोमबार १३ वटै उपसमूहका परिसूचक राताम्मे बन्दा बजार मापक परिसूचक नेप्से ७९.५७ अंकले घटेर २२८१.६७ को बिन्दुमा झरेको छ । प्रचण्डले शनिबार पार्टीको प्रदेश अधिवेशन उद्घाटन गर्नेक्रममा शेयर बजार साम्राज्यवादको विकसित रुप भएको भन्दै पूँजीको लगानी उद्योगमा नभई पूँजीबजारमै हुनु गलत भएको अप्रत्यासित अभिव्यक्ति दिएका थिए ।

गत भदौमा अधिकतम ३१९७ अंकको विन्दु पुगेको नेप्से परिसूचक त्यसयता घटिरहेको छ । राष्ट्र बैंकको नीति, अर्थमन्त्री र गभर्नरको अभिव्यक्तिले नकरात्मक प्रभाव पारिरहेको शेयर बजार प्रचण्डको अभिव्यक्तिले थप पेनिक बनेको छ ।

सोमबार कारोबार सुरु हुनुअघि नै शेयर ब्रोकर नरेन्द्र सिजापतिले प्रचण्डको अभिव्यक्तिको प्रभाव शेयर बजारमा पर्ने अनुमान गरेका थिए । सोमबार भयो पनि त्यस्तै । सोमबार नेप्सेमात्र नभएर राम्रा कम्पनीहरुको बजार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.४७ अंकले घटेर ४३७.५९ को बिन्दुमा पुगेको छ ।

सोमबार २३३ कम्पनीका ९६,७९,०७२ कित्ता शेयर किनबेच हुँदा ३,९९,५६,०४,१७८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै ननलाइफ इन्स्योरेन्स उपसमूहले गुमाएको छ । सो समूहको परिसूचक ५४५.९८ अंकले घटेको छ।