एजेन्सी- युक्रेनले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघका सदस्य राष्ट्रहरूसँग एयरलिफ्ट सेवा सम्झौतामा हस्ताक्षर गरेको छ ।
सरकारी विमान निर्माता एन्टोनोभले रणनीतिक एयरलिफ्ट अन्तरिम समाधान (SALIS) कार्यक्रम अन्तर्गत उक्त सम्झौता गरेको हो ।
पाँच वर्षको सम्झौता अन्तर्गत, एन्टोनोभले स्थायी आधारमा दुईवटा एन-१२४-१०० विमानहरू उपलब्ध गराउनुपर्नेछ । तिनीहरू जर्मनीको लाइपजिग एयरपोर्टमा स्ट्यान्ड-बाई मोडमा पार्क गर्नुपर्नेछ ।
साथै एन्टोनोभले थप तीनवटा विमानहरू उपलब्ध गराउनु पर्नेछ । एन्टोनोभ कम्पनीको वाणिज्य विभागका प्रमुख ब्लागोभिस्नीले कीभमा एक मिडिया ब्रिफिङमा पत्रकारहरूलाई उक्त जनाकारी दिएका हुन् ।
आवश्यकता परेको खण्डमा एन्टोनोभले नाटो र ईयूको हितमा एयरलिफ्ट मिसनहरू गर्नका लागि एन्टोनोभले विश्वको सबैभन्दा ठूलो विमान एन -२२५ मृया, साथै एनटेइ एन -२६ र एन -७४ ट्राफिक विमानहरू उपलब्ध गराउँन सक्नेछ भन्ने पनि परिकल्पना गरिएको छ ।
उक्त कार्यक्रमले आफ्ना सदस्य राष्ट्रहरूलाई विशेष विमान चार्टर गर्न आफ्नो स्रोत जुटाउन अनुमति दिएको छ जसले गठबन्धनलाई हवाई मार्गबाट विश्वभर भारी कार्गो ढुवानी गर्ने क्षमता बढाउँन मद्दत पुग्नेछ ।
हाल, बेल्जियम, पोल्याण्ड, स्लोभाकिया, स्लोभेनिया, चेक गणतन्त्र, जर्मनी, नर्वे, हंगेरी र फ्रान्स गरी नौ देशहरू सलिस कार्यक्रममा सहभागी छन्।
युक्रेनले २००६ देखि उक्त कार्यक्रम अन्तर्गत नाटोसँग सहयोग गर्दै आएको छ भने २०१९ मा हस्ताक्षर गरिएको पक्षहरू बीचको हालको सम्झौता ३१ डिसेम्बरमा समाप्त हुँदैछ ।