राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदन हुने

By खबरहब

November 14, 2021

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।

आजको बैठकमा भ्रातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।