सांकेतिक तस्बिर

कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्त पक्राउ

By खबरहब

November 14, 2021

धादिङ– कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका १ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका ७ घर भएका १८ वर्षीया किशोरी र सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका १ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटारमा जेएच ज्वेलर्स पसल संचालन गरी बस्ने २८ वर्षीय रामशरण राज सुनार रहेका छन् ।

धुनिबेशी नगरपालिका १ डाँडागाउँ बस्ने ५९ वर्षीया तिर्थमाया तामाङ आफ्नै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको घटना शंकास्पद देखिएपछि ईलाका प्रहरी कार्यालय खानिखोला र प्रहरी चौकी जिवनपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा सोही नगरपालिका भञ्ज्याङ पोखरीबाट वीर बहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरेको थियो।

उनले बुधबार साँझ ती महिलालाई ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेपछि महिलाको सुनसमेत लुटेर फरार भएको खुल्न आएको थियो । साथै उक्त सुन लुकाउने तथा बिक्री गर्ने उनकै भाइ सुवास, १८ वर्षीय किशोरी तथा सुन खरिद गर्ने रामशरणलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले रामशरणको पसलबाट ४७.२ लालको सुनको १ थान बेरूवा रिङ, १८ वर्षीया किशोरीको कोठाबाट ४७.६६ लालको १ थान बेरूवा रिङ, नगद २२ हजार ६ सय रुपैयाँ र घटनास्थलबाट रगत जस्तो पदार्थ लागेको १ थान ढुङगा बरामद गरेको छ ।

उनीहरूउपर जिल्ला अदालत धादिङबाट म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।