राजनीति

देउवालाई सभापति बन्न ४४० मत आवश्यक, ७०२ मत गन्न बाँकी

By खबरहब

December 14, 2021

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरणअनुसार अहिलेसम्म ३९७७ मतगणना सकिएको छ ।

अहिलेसम्मको पछिल्लो विवरणअनुसार शेरबहादुर देउवाले १९०० र डा. शेखर कोइरालाले १४६७ मत पाएका छन् । देउवालाई सभापति बन्न ४४० मत आवश्यक हुँदा ७०२ मत मात्रै गन्न बाँकी छ।

यस्तै प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याण गुरूङले २० मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अबको केहिबेरमा अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ । पछिल्लो मतपरिणाम हेर्दा कसैले पनि पहिलो चरणमा बहुमत ल्याउने सम्भावना देखिएको छैन । पहिलो चरणमै विजयी हुन २ हजार ३४० मत पाउनुपर्छ ।

यो परिणामअनुसार पहिलो चरणमा सभापति जित्ने सम्भावना कम हुँदै गएको छ । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्य ४६७९ मत मात्रै खसेको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।