मुम्बई–सन् २०१६ मा रिलिज फिल्म ‘डियर जिन्दगी’मा अभिनेत्री आलिया भट्ट र अभिनेता शाहरुख खानको सहकार्यलाई दर्शकले राम्रै रुचाएका थिए । पाँच वर्षपछि उनीहरु पुनः एकसाथ फिल्ममा सहकार्य गर्दैछन् ।
यसपटकको सहकार्य कार्यगत हिसाबले आलिया र शाहरुखको फरक हुनेछ । शाहरुख खानको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘डार्लिङ’मा आलियाले प्रमुख भूमिका निभाउदैछन् ।
फिल्ममा शाहरुख अभिनेता नभई निर्माता मात्र हुनेछन् । फिल्मको चाँडै सुटिङ सुरु हुनेछ । केही समय अघि मात्र शाहरुखले आलियालाई स्क्रिप्ट सुनाउँदा उनी काम गर्न उत्साहित थिइन् ।
यो फिल्मबाट जसीमत के रेने निर्देशकका रुपमा ‘डेब्यू’ गर्दैछिन् । उनले कैयौं फिल्ममा सहायका निर्देशक र मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेकी छन् ।
जसमीतसँग ‘फोर्स २’, ‘फन्नी खान’ र ‘पति पत्नी और वो’ जस्ता फिल्म लेखनको अनुभव छ । फिल्म ‘डार्लिङ’मा आलियासँगै शेफाली शाह, विजय वर्मा र रोशन मेथ्यूको पनि अभिनय रहनेछ ।
फिल्मले जीवनमा पागलपनको अवस्थामा गुज्रिरहेका आमा र छोरीको कथा बोल्नेछ । ‘फिल्म मुम्बईको एक मध्यम वर्गीय परिवारको पृष्ठभूमिमा स्थापित छ र दुई महिलाको जीवनलाई दर्शाइनेछ । जहाँ उनीहरुले असाधारण परिस्थितिमा साहस र प्रेम पाउछन्’, निर्देशक जसमीतले भनेकी छन् । –एजेन्सी