इनसाइट/स्पेशल

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली काठमाडौँमा

By खबरहब

March 15, 2021

काठमाडौँ– सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली काठमाडौँ आइपुगेको छ ।

विशेष विमानबाट आएको बहराइनका राजकुमारसहितको पर्वतारोही टोली सोमबार साँझ ६ : ४८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । आरोही टोलीलाई नेपाल प्रस्थान गर्नु अघि बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितले त्यहाँको विमानस्थलमै पुगेर सफल यात्राको शुभकामनासहित विदाइ गरेको थियो ।

आरोहणका लागि आवश्यक बन्दोबस्ती नेपालमा रहेको सेभेन समिट ट्रेक्सले मिलाएको हो । उक्त टोली ८० दिनसम्म नेपालमा बस्ने छ ।

यस्तै, टोलीले गोरखाको चुमनुब्बी गाउँपालिका एकस्थित समागाउँका बासिन्दाहरुलाई दुई हजार डोज कोरोना बिरुद्धको खोप पनि उपलब्ध गराउने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि, गत असोजमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सोही टोलीले आठ हजार एक ६३ मिटर अग्लो मनास्लु र छ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेको थियो ।