फाइल फोटो

पर्यटन

औद्योगिक र पर्यटन क्षेत्रका ६ हजार ७ सय व्यवसायीलाई खोप

By खबरहब

August 15, 2021

गण्डकी- पोखरामा औद्योगिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो ।

शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालयमा एक हजार ४०० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

दैनिक सयौँ उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यावसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र नबनून् भन्नेतर्फ पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराइएको जानकारी दिँदै उनले थोरै सङ्ख्यामा भए पनि खोप उपलब्ध हुनुले आफूहरूलाई उत्साहित बनाएको बताए ।

अध्यक्ष कोइरालाका अनुसार सङ्घले एक हजार ४००, पोखरा पर्यटन परिषद्को समन्वयमा दुई हजार ५००, पोखरा औद्योगिक क्षेत्रमा एक हजार, लेखनाथ उद्योग वाणिज्य सङ्घमा ९०० तथा पोखरा चेम्बर अफ कमर्ससँग आबद्ध ९०० व्यवसायीले खोप पाएका छन् ।