विभिन्न रोगबाट बच्ने अचुक औषधि हातधुने बानी

By खबरहब

October 15, 2021

काठमाडौँ– आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस । स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो । अरुकोको ज्यान बचानुहोस्–आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदै छ ।

अझ कोरोना भाइसरको रोकथाम तथा सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले पनि हातधुने बानीको विकास गर्न सबैलाई आग्रहसमेत गरेको छ । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट मात्र जोगाउँदैन अनावस्यक अस्पतालको खर्चसमेत बचाउँछ । विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग र संक्रमण फैलने गरेको र त्यसैको कारण लाखौंको मृत्युसमेत हुने गरेको छ ।

झाडापखला फैलनुको मुख्य कारणको रुपमा हात सफा नहुनुलाई नै मानिन्छ । विश्वभर वर्षेनी लाखौं बालबालिकाको मृत्यु यही झाडापखालाकै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाउँछ । हरेक ३ जना बालबालिकामध्ये एकमा झाडापखालाको संक्रमण हुने गरेको तथ्याङ्क छ ।

दिगो विकासको छैठौं लक्ष्यमा पनि स्वच्छ खानेपानी र सरसफाईको विषय उल्लेख गरिएको छ । जसमा सरसफाई अन्तर्गत हातधुने बानी पनि एउटा महत्वपूर्ण पाटो हो ।

हात धुने बानीको विकास गर्नसके वर्षेनी मृत्यु हुने बालबालिकाको यो संख्यालाई हटाउन सकिन्छ । राम्रोसँग हात धोएमा मात्र झाडापखाला जस्ता ४० र श्वास–प्रश्वाससम्बन्धी २३ प्रतिशत रोग नलनग्ने विभिन्न स्वास्थ्यसम्बन्धी प्रतिवेदनहरूले देखाएको छ ।

कसरी धुने हात ?

सफा पानीले हात भिजाउने । हातमा साबुन लगाउने र कम्तीमा २० सेकेन्डसम्म हात मिच्ने । हातका सबै औंला, हत्केला र औंलाका चेपचेपमा साबुन पुर्‍याउने । हातको गोलीगाँठादेखि नङको टुप्पोसम्म साबुल पनिले मिच्ने । सबैतिर मिचिसकेपछि राम्रोसँग हात पखाल्ने । पखालेको हातलाई सफा कपडाले मात्र पुछ्ने ।

कुन कुन बेला हात धुनुपर्छ ?

शौचालय गएपछि, खाना खानुअघि र खाएपछि, बच्चाको कपडा वा अन्य सामान चलाएमा, कुनै पनि जनावरलाई छोएपछि चाहे घरपालुवा भएपनि, खाना पकाउनु अघि यी सामान्य अवस्था भएपनि पटक–पटक हात धुने बानी बसाल्नु नै राम्रो हुन्छ ।