मनोरञ्जन

‘सत्यम’मा मलिकाको स्थानमा उपासना

By खबरहब

November 15, 2021

काठमाडौं–अभिनेत्री तथा मोडल मलिका महत फिल्म ‘सत्यम’बाट बाहिरिएकी छन् । उनको स्थान अभिनेत्री उपासना सिंह ठकुरीले लिएकी छन् । फिल्ममा उनको जोडी अभिनेता पल शाहसँग हुनेछ । फिल्ममा अभिनेता राजेश हमालको मुख्य भूमिका रहनेछ ।

पढाई र सुटिङको समय तालिका नमिल्ने भएपछि महतले फिल्म छाडेकी हुन् । निर्माता रेशम सापकोटाले मलिकाले फिल्म छाड्नुको कारण उनको अध्ययन नै रहेको बताए ।

निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनालाई नै अफर गरिएको तर अर्को फिल्मको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी थिईनन् । उपासना पहिलो पटक फिल्ममा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्नका लागि निकै उत्साहित छन् ।

फिल्ममा अनुपविक्रम शाही, अभय बराल र कृष्ण जोशीको अभिनय रहनेछ । नवयुग सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्ममा रेशम सापकोटाको लेखन रहनेछ । फिल्मका निर्माता रेशम नै हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्मका सह–निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् ।