समाचार

प्रधानन्यायाधीशले गरेको वार्ता आह्वान नेपाल बार र सर्वोच्च बारद्वारा अस्वीकार

By खबरहब

November 15, 2021

 काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि गरेको आह्वान बार एशोसिएसनले अस्वीकार गरेको छ ।

नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिसएन दुबैले वार्ता अस्वीकार गर्दै उनको राजीनामा नै बटमलाइन भएको प्रष्ट पारेका छन् ।

बारको आन्दोलन र धर्नाले मुख्य गेटमा अवरोध कायम भएपछितेस्रो दिन पनि बैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका प्रधानन्यायाधीश राणाले लगत्तै विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई आह्वान गरेका थिए ।

तर, राणाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने नेपाल बार र सर्वोच्च बारका अध्यक्षहरूले जनाएका छन्  ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणालाई विकृति र भ्रष्टाचारीको प्रवक्ता र पक्षपोषण गर्न नेतृत्वमा नपठाएको जनाउँदै भने, ‘हामीसँग बार्तामा नआएर भ्रम छर्न विज्ञप्ति बाँडिएको छ । हामी यसको लिखित रुपमा जवाफ दिन्छौं । वार्ता होइन राणासँग राजीनामाको मात्रै विकल्प छ ।’

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणाले जारी गरेको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाए । तर उनले आह्वान गरेको वार्तामा नबस्ने उनले बताए ।

‘अफिसमुनिको आन्दोलनलाई वक्तव्य जारी गरिएको छ । वक्तव्यको जवाफ वक्तव्यमै दिन्छौं । उहासँग वार्ताको कुरै हुँदैन । अवको वार्ता भनेको उहाँपछि आउने नेतृत्वसँग न्यायालय सुधारका लागि हुन्छ’, उनले भने ।

जबराको राजीनामा माग्दै १४ कात्तिकदेखि आन्दोलित बारको आन्दोलन आइतबारदेखि देशव्यापी भइसकेको छ ।