इनसाइट/स्पेशल

इजरायल–भैरहवा सिधा उडान गर्न इजरायल इच्छुक

By खबरहब

November 15, 2021

काठमाडौँ– इजरायलले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा देखएको छ ।

काठमाडौँस्थित इजरायली राजदूत हेनान गोदरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँगको भेटमा यस्तो चाहाना राखेका हुन् । मन्त्री आलेसँग राजदूत गोदरले सोमबार शिष्टाचार भेट गरेका थिए । सो भेटका क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानबारे चर्चा भएको हो ।

निर्माणको अन्तिम चरणमा पुगेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यसै वर्षको अन्तिममा परीक्षण उडान गर्ने तयारी भइरहेको छ । मन्त्रालयमा भएको भेटमा राजदूत गोदरले इजरायल र काठमाडौँबीच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिए ।

सो अवसरमा मन्त्री आलेसँग राजदूत गोदरले दुई हप्ताभित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको जहाज भाडामा लिन इच्छुक रहेको बताए । यसैगरी राजदूत गोदरले नेपालको आन्तरिक हवाई उडानमा विदेशी र नेपालीको असमान हवाई भाडादरका विषयमा चासो व्यक्त गरेका थिए ।