राजनीति

सर्वोच्च परिसरमा पत्रकारलाई रोक लगाउनु निन्दनीय : पत्रकार महासंघ

By खबरहब

November 15, 2021

काठमाडौँ– सर्वोच्च अदालतमा देखिएको संकटबारे समाचार संकलनमा अवरोध गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

प्रधानन्यायाधी चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले सर्वोच्चमा धर्ना दिने कार्यक्रम रहेकोमा सोमबार पत्रकारहरुलाई सर्वोच्च अदालत परिसर र परिसर बाहिर रोकिएको थियो ।

महासंघका महासचिब रोशन पुरीले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई समाचार संकलनमा अवरोध गरेकोमा महासंघको ध्यानाकर्षण भएको जनाएका छन् । उनले यस्तो अवरोध गर्नु निन्दनीय घटना भनेका छन् ।

पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट समाचार संकलनमा अवरोध पुर्‍याउने र दुर्व्यवहार गर्ने कामप्रति महासंघले आपत्ति जनाएको छ।

महासंघले पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।