राजनीति

धनराज गुरुङ र पूर्णबहादुर खड्काको सुरुआती अग्रता (भिडियो)

By खबरहब

December 15, 2021

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेको । पार्टी कार्यालय सानेपामा जारी उपसभापति पदको मतगणनाको पहिलो नतिजा सार्वजनिक गरिएको छ ।

३ सय मत गणना हुँदा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । धनराजले १३१ मत पाएका छन् भने पूर्णबहादुरले १२८ मत पाएका छन् । तेस्रो नम्बरमा रहेका विजयकुमार गच्छदारले १२२ मत पाएका छन् । चौथोमा रहेका चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।

२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा चन्द्र भण्डारी, महेश आचार्य र दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन् । सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का तथा सभापतिमा पराजित डा शेखर कोइरालाको प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार छन् ।

निर्वाचन समितिले उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना गर्ने जनाएको छ । १३४ सदस्यीय कार्यसमिति महाधिवेशनले चयन गर्नेछ । ती मध्ये सभापतिमा देउवा विजयी भएका छन् भने केन्द्रीय सदस्यमा आनन्द ढुंगना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । अब १२९ पदको मतगणना हुन बाँकी छ । मतगण्ना सम्पन्न हुन एक हप्ता लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ ।