पर्यटन

पर्यटनमन्त्री अरगरियालाई गृह जिल्लामा १०१ किलोको मालाले स्वागत

By खबरहब

June 16, 2021

जनकपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई बुधबार धनुषामा १०१ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री यादवलाई जनकपुरधाममा नेता तथा कार्यकर्ताले १०१ किलोको मालाले स्वागत गरेका हुन् ।

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका अरगरियालाई जसपाका युवा नेता राजेश यादवले १०१ किलोको मालाले स्वागत गरेका थिए ।

जसपा महन्थ ठाकुर पक्षका नेता, कार्यकर्ता र नेकपा एमालेका युवा नेताहरुले स्वागत गरे पनि कार्यक्रम स्थलमा भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव निकटका नेताहरुको उपस्थिति थिएनन् ।

जनकपुरको भानु चोकस्थित घर पुगेपछि उनलाई आफन्तले समेत स्वागत गरेका थिए । घरमा १० मिनेट पनि नबसेर उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले राखेको स्वागत कार्यक्रममा पुगेका थिए ।

उनले आजै जानकी मन्दिरमा पूजापाठ पनि गरेका छन् । मन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न आवश्यक अध्ययन तथा अनुसन्धानका लागि समिति गठन गरेका थिए ।

मन्त्री अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने स्वास्थ्य सामग्री समेत सहयोग गरेका छन् ।