खेलकुद

यस कारण जोर्डन र रोनाल्डो उस्तै

By मनोज घिमिरे

November 16, 2021

काठमाडौँ– ८० को दशकको अन्त्यदेखि २००० को दशक शुरु नभएसम्म सिकागो बुल्सको चर्चा संसार भर थियो ।

विश्वका युवाका लागि सिकागो बुल्सका पोसाक लगाउनु गर्वको विषय थियो । एनबीए बास्केटबलमा त्यसै सिकागो बुल्सलाई यस खालको उचाइ दिने एउटा स्टार, माइकल जोर्डन ।

त्यसो त, संसारका महान् खेलाडीको सूचीमा निःसन्देह माइकल फ्लेप्स र युसेन बोल्ट नै शीर्ष कोटीमा रहने छन् । उनीहरूले पाएका उपलब्धिको समकक्षमा कोही पुग्ने छैनन् । परन्तु, लोकप्रियताको कसीमा जोर्डन पक्कै कम होइनन् । हो, अहिले पनि कुनै टिम खेलमा एउटै खेलाडी जितको प्रतीक बन्यो भने उसको तुलना अरूसँग होइन, तीनै जोर्डनसँग हुने गरेको छ ।

जोर्डन टिम गेमका बादशाह नै थिए । बास्केटबल इतिहासका महान् खेलाडी जोर्डनकै कारण ८० र ९० को दशकमा एनबीए बास्केटबलको लोकप्रियता चुलीमा पुगेको थियो ।

१५ सिजन एनबीए खेलेका उनले सिकागो बुल्सको तर्फबाट ६ पटक उपाधि जिते । तीन सिजन कलेज बास्केटबल खेलेका उनी १९८४ मा सिकागो बुल्समा आबद्ध भएका थिए । सुरुवातमै सनसनी मच्चाएका उनको स्कोर गर्ने शैली, थ्री प्वाइन्टर क्षमता र हावा जस्तो गतिका कारण उनलाई ‘एयर जोर्डन’को उपनाम दिइएको थियो ।

जोर्डन आफ्नो समयमा ६ पटक एनबीए फाइनलमा मस्ट भ्यालुएबल प्लेयर अवार्ड र १० पटक शीर्ष स्कोरर भए । हरेक पटक शीर्ष स्कोरर हुँदा उनले आफ्नो कीर्तिमान आफैँले भङ्ग गरेका थिए । पाँच पटक सिजनको मस्ट भ्यालुएबल प्लेयर अवार्ड पनि पाएका उनी १४ पटक अल स्टार गेमका लागि छनोट भएका थिए । १९८८ मा उनले एनबीए डिफेन्सीभ टाइटल अफ द इयर पाएका थिए ।

त्यसो त क्रिकेट स्टार रिक्की पोन्टिङ, भलिबलका चार्ल्स किराली र लोरेन्जो बर्नाडी तथा क्युबाकी रेग्ला टोरेसको सधैँ चर्चा हुनेगर्छ । यी नै खेलाडीका कारण उनीहरूका टोली धेरै पटक हारबाट उम्किएर जित पाउन सफल भएका थिए ।

संसारका क्रिकेट फ्यानहरूलाई २००० को दशकको त्यो अस्ट्रेलियाको टोलीको उत्कृष्ट प्रदर्शन र नतिजा अहिले पनि याद हुन सक्छ । लगातार एक दशक एउटा टिम गेममा उही ढङ्गको प्रभाव कमै देखिएको छ, जुन प्रभाव पोन्टिङ नेतृत्वको अस्ट्रेलियाको थियो ।

त्यसो त पोन्टिङ क्रिकेटका सर्वकालीन उत्कृष्ट खेलाडी नहोलान् । परन्तु उत्कृष्ट प्रदर्शन र नेतृत्व दुवै कारणले उनले अस्ट्रेलियालाई दिलाएको सफलता अतुलनीय छ । यसै कारण संसारका एक टिम गेम व्यक्तित्वको रूपमा पोन्टिङको चर्चा हुन्छ ।

पोन्टिङ हुन् या तेन्दुलकर ? चार्लेस किराली होस् या बर्नाडी सबैका आफ्ना फ्यान छन् । पेले हुन् या म्यारोडोना ? सबैको आफ्नै खाले चर्चा छ । यसका बाबजुद टिम गेममा माइकल जोर्डनको जुन स्थान छ, त्यो कमैको छ । अन्य स्टार खेलाडीको प्रदर्शन पनि उत्कृष्ट थियो नै, तर जोर्डनले जस्तो व्यावसायिक क्लबलाई होस् या राष्ट्रिय टोली दुवैलाई हार्नै नदिने खेलाडी भने कमै थिए ।

फुटबल स्टार क्रिस्टियानो रोनाल्डो यसै सत्र आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा फर्किएर मैदानमा जमी रहेका छन् । जारी च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टरको यात्रामा रोनाल्डोको भूमिका अहम् छ । जसरी ९० को दशकको हरेक एनबीएमा सिकागो बुल्सको यात्रा जोर्डनको प्रदर्शनमा अडिएको हुन्थ्यो, यसैगरि अहिले ओल्ड ट्रायफोर्डको खेलमा रोनाल्डोको भूमिका महत्त्वपूर्ण छ । यसैले म्यानचेस्टर प्रशिक्षक ओले गुनार सोल्सकजारकै सोचमा जोर्डन जस्ता थिए, अहिले रोनाल्डो त्यस्तै छन् । जोर्डन बास्केट गर्न नै जन्मिएका । रोनाल्डो गोल गर्न जन्मिएका ।

चार खेल पाँच गोल । दुई ढिला समयमा विजयी गोल, एक इन्जुरी समयमा बराबरी गोल । सायद कुनै खेलाडीको स्तर व्याख्या गर्न यो नै काफी हुन सक्छ । अनि, त्यो टिममा ती खेलाडीको उपस्थिति कत्तिको महत्त्वपूर्ण छ भन्ने व्याख्या गर्न पनि यस सिजनको च्याम्पियन्स लिगमा रोनाल्डोले गरेको गोल सङ्ख्या पर्याप्त हुनेछ ।

एटलान्टासँग दुई साता अघिको खेलमा रक्षापक्तीले लगातार गल्ती गरे पछि म्यानचेस्टर पहिलो स्थानबाट तेस्रोमा झर्दै समूह चरणमा नै सङ्कटमा पर्ने सम्भावना देखिएको थियो । अन्तिम समयसम्म म्यानचेस्टर युनाइटेड दबाबमा थियो । यसै दबाबकाबीच रोनाल्डो फेरि एक पटक नायक बनेर उभिए ।

पहिलो हाफमा एक पटक बराबरी गोल गरेका रोनाल्डोले ९१ औ मिनेटमा बराबरी गोल गरेर टोलीलाई जोगाए । सोही गोलसँगै २–२ गोलको बराबरी गरेको म्यानचेस्टर युनाइटेड समूह एफको शीर्ष स्थानमा रहन सफल भयो ।

रोनाल्डोले एटलान्टासँगको खेल अत्यन्त कठिन भएको प्रतिक्रिया दिँदै आफूले अन्तिमसम्म विश्वास नगुमाएको र प्राप्त नतिजामा खुसी भएको प्रतिक्रिया दिएका छन् ।

रोनाल्डोले यस सिजनमा खेलेका सबै च्याम्पियन्स लिग खेलमा गोल गरेका छन् । भिल्लारियलसँगको खेलमा विजयी गोल गरेका उनले एटलान्टासँगको सो खेलमा दुई गोल गर्नु अगाडी घरेलु भूमिमा भएको खेलमा विजयी गोल गरेका थिए ।

समूहको चार खेलमा म्यानचेस्टर सात अङ्कसहित शीर्ष स्थानमा छ । समूहमा कमजोर रहेको योंग ब्वाइजसँगको खेलमा पराजित यो टोलीले अर्को चरणमा प्रवेश पाउन त अर्को खेलको प्रतीक्षा गर्नुपर्ने हुन्छ । तर, पनि एटलान्टासँगको खेलमा पराजित हुँदा टोलीको यात्रा जत्ति कठिन हुने थियो, यो बराबरीले त्यत्ति कठिन भएको छैन ।

म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले ३०३ खेल खेल्दा एटलान्टासँगको त्यो बराबरी गोल उनको १२७ औँ थियो । युरोपेली प्रतियोगिताको एउटै खेलमा दुई वा सो भन्दा बढी गोल गर्ने उनी सबैभन्दा पाका खेलाडी समेत बनेका छन् ।

२००३ को अप्रिलमा रुडभान नेस्टलराय पछि च्याम्पियन्स लिगमा लगातार चार खेलमा गोल गर्ने पहिलो खेलाडीको रूपमा पनि रोनाल्डोले कीर्तिमान कायम गरेका छन् ।

म्यानचेस्टरको जित पछि सञ्चार माध्यमसँग प्रतिक्रिया दिँदै प्रशिक्षक ओले गुनार साल्सकजारले यो उमेरमा पनि रोनाल्डो अझ उत्कृष्ट रहेको बताए ।

उनले अहिले पनि सिकागो बुल्सका समर्थकहरू म्यानचेस्टरको फुटबल हेरेर रमाइरहेको हुन सक्ने प्रतिक्रिया समेत दिएका थिए । अन्तिम मिनेटमा उनको भली गोल भएको थियो । यसलाई प्रशिक्षक र उनका समर्थकले अभूतपूर्व भनेर व्याख्या गरेका छन् ।

त्यसो त घरेलु भूमिमा लिभरपुलसँग ५–० ले पराजित भए पछि म्यानचेस्टर टिमको रूपमा प्रदर्शन गर्न नसकेको आरोप लागेको थियो । म्यानचेस्टर युनाइटेडका पूर्व रक्षक रियो फर्डीनान्ड मान्छेले उनलाई टिममा घुलमिल गर्न नगर्ने आरोप लगाए पनि सो आरोप मिथ्या भएको तथा उनको उत्कृष्ट प्रदर्शनले अन्य खेलाडीलाई प्रेरित गर्ने गरेको बताउँछन् ।

एभरटनका पूर्व मिडमिल्डर लीयोन ओस्मानले पनि रोनाल्डोले गरेको दोस्रो गोल साँच्चै अभूतपूर्व भएको बताएका छन् । उनले एटलान्टाले अन्तिम समयमा खेललाई हलुकोसँग लिएर म्यानचेस्टर युनाइटेडमा रोनाल्डो छन् भन्ने कुरामा ध्यान नै नदिएर गल्ती गरेको प्रतिक्रिया दिएका छन् ।

‘जादुमय खेलाडीको जादुमय प्रदर्शन’ अन्यको झैँ ओस्मानको पनि रोनाल्डो प्रतिको प्रतिक्रिया यही थियो । फर्डीनान्डले म्यानचेस्टर सिटीसँगको खेलमा युनाइटेड कमजोर देखिए पनि रोनाल्डोको उपस्थितिका कारण फराकिलो अन्तरको हार जोगिएको प्रतिक्रिया दिएका छन् । उनले एटलान्टा पनि रोनाल्डोको उपस्थितिकै कारण धेरै हाबी हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

युनाइटेडका पूर्व मिडफिल्डर पाल स्कोल्सले रोनाल्डोको त्यो गोललाई एउटा गोल मात्र नभएर म्यानचेस्टरको जीवन भएको सङ्केत गरेका छन् । दुई पटकको अग्रता जोगाउन नसके पछि एटलान्टाका मेनेजर जीयान पियरे गास्पेरेनीले पनि रोनाल्डोलाई सयौँमा एक होइन, हजारौँमा एकको संज्ञा दिए । उनले रोनाल्डोले फेरि यस्तै जादु बारम्बार गर्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

संसारका हालसम्मका उत्कृष्ट फुटबलर रोनाल्डो नै हुन् ? या अन्य कोही ? भन्ने लामो बहसको विषय हुन सक्छ । पछिल्लो दशकको उत्कृष्ट फुटबलर नै पनि लियोनेल मेसी या रोनाल्डो मध्य को ? भन्ने एउटा बहस हुन सक्छ ।

रोनाल्डोको टोलीले खेलेका कत्ति प्रतिशत खेल जित्यो त्यो अर्कै हो ? तर रोनाल्डोले अन्तिम समयमा गरेको गोलले धेरै पटक उनको टोली त्यसै गरी जोगिएको छ, जसरी जोर्डनको अन्तिम सेकेन्डको थ्री प्वाइन्टरले सिकागो बुल्स जोगिएको थियो । यस कारण ती जोर्डन र यी रोनाल्डो सवैका लागि उत्तिकै प्रिय छन् ।

तीनै रोनाल्डोले अर्को साता गर्ने प्रदर्शनलाई उनका फ्यानहरूले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् ।

– एजेन्सीहरूको सहयोगमा