फाइल तस्वीर

राजनीति

ओलीलाई प्रचण्डको चुनौती- ‘ज्ञानेन्द्रसँगको सम्झौता प्रमाणित गरेर देखाउनुहोस्’

By खबरहब

December 16, 2021

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग माओवादी अध्यक्ष प्रचण्डले पाँचबुँदे सहमति गरेको भनेर बुधबार सार्वजनिक कार्यक्रममार्फत आरोप लगाएका थिए ।

सो अभिब्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले बिहीबार एक वक्तव्य निकालेरओलीलाई ‘पाँचबुँदे सहमति’प्रमाणित गर्न चुनौती दिएका हुन् । सम्झौता प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न आग्रह गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि टिप्पणी गरेका छन् । उनले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम भएको आरोप लगाएका छन् ।

यस्तै माओवादी अध्यक्ष प्रचणडले आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी पनि गरेका छन् । नेपालको सेयर बजारका सन्दर्भमा आफ्नो पार्टी लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको उल्लेख गरेका छन् ।

दलाल पुँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन भन्दै उनले सेयर होल्डरहरुसँग आग्रह समेत गरेका छन्। यसअघि प्रचण्डले सेयरबजारबारे दिएको नबुझेरै अभिव्यक्ति दिएको भन्दै ओलीले टिप्पणी गरेका थिए ।