उदयपुर- उदयपुरको बेलका नगरपालिका– १ जनता बेलका मावि पुरन्दहको खेल मैदानमा मलिथम थारु सेवा समाज उदयपुरले दशैँको अवसरमा ‘प्रथम मलिथम फुटबल च्यान्पियनसिप कप २०२१’ आयोजना गरेको छ ।
थारु समुदायको विकास तथा लागू पदार्थ दुर्व्यसनीको बढ्दो विकृति कम गर्ने अभियानअन्तर्गत थारु समुदायको युवालाई लक्षित गरी खेलको आयोजना गरिएको मलिथम थारु सेवा समाज उदयपुरका अध्यक्ष सञ्जय चौधरीले बताए ।
सहभागी आठ टिममध्ये लक्ष्मीपुर एफसी र टिएफसि ज्यामिरे पहिलो चरणमा शनिवार उद्घाटन खेल खेल्दै छ । यस्तै, दोस्रो चरणमा चौदण्डीगढी एफसी र हिमालयन युवा क्लब मोथियाहीबीच खेल हुदैँछ ।
कार्तिक २ गते हुने फाइनलमा विजेताले नगद २५ हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने उप विजेताले ट्रफी,मेडल र प्रमाण पत्रसँगै नगद १५ हजार प्राप्त गर्ने खेलकुद व्यवस्थापक कृष्णमान चौधरीले बताए ।
थारु समुदायलाई लक्षित गरी सञ्चालन हुन गइरहेको प्रथम मलिथम फुटबल च्यान्पियनसिपको उद्घाटन प्रदेश १ प्रदेश सभा सदस्य सुनिताकुमारी चौधरीले गरेकी थिइन् ।