बलिउड/हलिउड

जेलमा तनावमा छन् आर्यन

By खबरहब

October 17, 2021

मुम्बई(एबीपी लाइभ)– लागुऔषध मामलामा हाल मुम्बईको आर्थर रोड जेलमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान निकै तनावपूर्ण अवस्थामा बसिरहेका छन् । उनले जमानतका लागि निवेदन दिए पनि अदालतले जमानतको विषयमा निर्णय दिइसकेको छैन । उनी जमानतको निर्णय अदालतले २० अक्टोबरमा गर्दैछ ।

आर्यनका तर्फबाट अमित देसाई, सतीश मानशिन्दे र एनसीबीको तर्फबाट एडिसनल सोलिसिटर जनरल अनिल सिंहले दाबी पेश गरेका छन् । आर्यनको ट्रायल नम्बर ‘एन९५६’ हो । जेलमा कोही पनि व्यक्तिलाई उसको नामको सट्टा उसलाई दिइएको नम्बरले बोलाउने गरिन्छ ।

आर्यनलाई उनको कैदी नम्बर दिइएको छ । उनले जेलमा दिइएको खानेकुरा खान सकेका छैनन् । उनलाई दिइएको खानेकुरा उनले मनपराएका छैनन् । जेलमा बाहिरबाट खाना लान अनुमति नभएकाले उनले आफूले चाहेको खाना खान पाएका छैनन् । जेलमा उनले घरकै कपडा लगाइरहेका छन् ।

हालैमात्र नारकोटिक्स कन्ट्रोल ब्यूरोका अधिकारीले आर्यनसँग गरेको परामर्शमा उनले जेलबाट बाहिर निस्किएपछि गरिबलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

एनसीबीका जोनल निर्देशक समीर वानखेडेले आर्यनसँग परामर्श गरेका थिए । उनले समीरसँग जेलबाट बाहिर आउनसाथ गरिब र कमजोर व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।