मनोरञ्जन

गायिका चन्द्रकला शाहलाई ५१ हजार राशीको पुरस्कार

By खबरहब

November 17, 2021

काठमाडौं– नेपाली संगीत क्षेत्रमा साढे चार दशकदेखि सक्रिय लोकगायिका चन्द्रकला शाहलाई ५१ हजार रुपैंयाँ राशीसहित ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरिएको छ । उनलाई मंगलबार मँगलबार काठमाडौंमा एक कार्यक्रमका बीच संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले पुरस्कृत गरेका हुन् ।

पछिल्लो समय अमेरिकामा बस्दै आएका संगीतकार तथा गायक कन्हैयासिंह परियारले आफ्नो ५० औं जन्मदिनको अवसर पारेर ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’ स्थापना गरेका थिए । उनी काठमाडौं आएको बेला गायिका शाहलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा संगीतकार बासकोटाले नेपाली लोकसंगीत सिर्जना र भाका संकलनमा चन्द्रकलाको योगदानको स्मरण गरे । ‘उहाँलाई करारमा काम गरिरहेको बेला रेडियो नेपालले बिना कारण जागिर खोसेर बेरोजगार बनाएको बेला सिंहले आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्नु प्रशंसनीय काम हो’, उनले भने ।

टिका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको सो कार्यक्रममा गायिका शाहले पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतहरुको पुस्तक प्रकाशन गर्ने बताइन् ।

गायक कन्हैया सिंहले चन्द्रकलाकै गीत सुनेर र गाएर आफ्नो बाल्यकाल बितेको बताए ।