राजनीति

राजीनामा दिन बारले प्रधानन्यायाधीशलाई दियो तीन दिनको अल्टिमेटम

By खबरहब

November 17, 2021

काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ ।

‘शान्तिपूर्ण आन्दोलन गरिरहेका कानून व्यवसायीलाई दंगा प्रहरी लगाएको छ । यो तत्काल हटाइयोस्,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘तीन गतेसम्म पनि राजीनामा नआए देशभरका न्यायपालिकामा आन्दोलनलाई थप सशक्त बनाउँछौ ।’

बुधबार बारको कार्यालय परिसरमा उनले राजीनामा मात्रै होइन बिकृती नहट्दासम्म आन्दोलन जारी रहने बताए ।

प्रधानन्यायाधीश राणासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलित हुनुपरेको उनले बताए । राणाले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको उनको आरोप छ ।

प्रधानन्यायाधीश राणाले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको बारको ठहर छ । ‘न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौँ। न्यायालयको शीर निहुरिइरहेको छ,’ उनले भने ।

प्रधानन्यायाधीश राणाले गरेका सबै विवादास्पद फैसलाबारे अब बारले अध्ययन गर्ने पनि उनले बताए ।