देश/प्रदेश

सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि

By खबरहब

November 17, 2021

धनगढी– नेकपा एमालेको चितवनमा हुने १०औं महाधिवेशनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार प्रदेशबाट एक सय ६० भन्दा बढी महधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

महधिवेशन प्रतिनिधि छनोट गर्दा संघीय निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्यको संख्यालाई आधार मानेको उनले बताए । तर, सुदूरपश्चिममा संख्यालाई आधार मान्दा केही तलमाथि भएका कारण महधिवेशन प्रतिनिधिको संख्या केही बढ्ने उनको भनाइ छ । यसैगरी मजदुर संगठनबाट पनि प्रतिनिधि आउने हुँदा सो संख्या बढ्न सक्ने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाका अनुसार कैलालीबाट ४४ जना, डडेल्धुराबाट ११ जना, बाजुराबाट २१ जना, कञ्चनपुरबाट १६ जना, डोटीबाट१६ जना, अछामबाट १४ जना, दार्चुलाबाट १२ जना, बैतडीबाट १५ जना र बझाङबाट ११ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । नौ जिल्लाबाट एक सय ६० प्रतिनिधि छनोट भएका छन् ।