राजनीति

सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा

By खबरहब

November 17, 2021

संखुवासभा– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् ।

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे । औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उनले बताए ।

फरक प्रसंगमा कोइरालाले अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने बताए । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने उनको भनाइ थियो । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनले बताए । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाको दाबी छ ।

कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पनि दाबी गरे । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए ।