खेलकुद

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेड र लिभरपुलको गोलरहित बराबरी

By खबरहब

January 18, 2021

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

कठिन खेलबाट १–१ अंक बाँडेपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाइराख्यो । लिभरपुल भने यो बराबरीपछि चौथो स्थानमा झरेको छ ।

१८ खेलबाट म्यान्चेस्टर युनाईटेडको ३७ अंक भएको छ भने लिभरपुलको ३४ अंक छ । १७ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिंदा समान ३५ अंक जोडेको लेष्टर सिटी गोल अन्त्रको आधारमा तेस्रो स्थानमा झरेको छ ।

म्यान्चेस्टर सिटीले गएराति क्रिष्टल प्यालेसमाथि ४–० को जित निकाल्यो । खेलमा म्यान सिटीका लागि जोन स्टोन्सले दुई गोल गर्दा इके गुन्डोगान र राहिम स्टर्लीङले एक एक गोल गरे । गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले शेफिल्ड युनाईटेडलाई ३–१ ले हरायो ।

टोटनह्यामको जितमा सर्जी औरिएर, ह्यारी केन र दोम्बेलेको एक एक गोल सामेल थियो ।