समाचार

पानीले खर कुहिएपछि किसान मर्कामा

By खबरहब

October 18, 2021

बैतडी- आइतबार साँझदेखि परेको भारी वर्षाका कारण बैतडीका किसानले काटेर सुकाएको खर बिग्रिएको छ ।

आगामी हिउँदको सिजनमा पशु चौपायालाई खुवाउन काटेर सुकाएको खर वर्षाका कारण बिग्रिएको हो । वर्षाका कारण काँचो खर कुहिन थालेको सुर्नया गाउँपालिका ४ जोगेनीका हरिना महराले बताइन् ।

१५ दिन लगाएर काटेको खर थुप्रो बनाउन नपाउँदै बिग्रिएको उनले बताइन् । खर कुहिन थालेपछि पशु चौपायालाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।

सुर्नया गाउँपालिकाको धौलपौरी, जयसिया, मल्ली ओरड, धरमपानी, सउड, घेर, फुलधारा, दुले, रौलालगायतका ठाउँमा काटेर सुकाएको खर बिग्रिएको स्थानीय गणेश भट्टले बताए । काटेर सुकाएको खरमा पानी परेपछि कुहिन्छ ।

अहिले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा खर काट्ने चटारो छ । आगामी हिउँदमा पशु चौपायालाई खुवाउन किसानहरू अहिले खर काटेर सुकाउने गर्दछन् । खरको थुप्रो बनाउन नपाउँदै फिँजाएर राखेको खरमा पानी परेपछि कालो भएर सड्ने गर्दछ ।