अन्तर्राष्ट्रिय

महिला हिंसाले बदनाम हुँदैछ भारत

By मनोज घिमिरे

November 18, 2021

काठमाडौँ– फूलनदेवी, भारतकी चर्चित डाँकु । उत्तर प्रदेशकी यी महिला त्यत्तिकै डाँकु बनेकी होइनन् ।

बारम्बार बलात्कारको सिकार भएपछि उनी डकैतीमा संलग्न मात्र भइनन्, एकै पटक आफूलाई बलात्कार गर्ने २२ जनालाई एकै स्थानमा मार्न पनि सफल भइन् । उनको जीवन कथाले तीन दशक अगाडीको भारतीय समाजको चित्रण गरेको छ ।

दु:खद, पक्ष यो हो कि, फूलनदेवीको पुस्तापछि पनि भारतले यही नियति भोगिरहेको छ । महाराष्ट्रमा ४०० जनाको समूहबाट घर नभएकी एक १६ वर्षे बालिकालाई बलात्कार गरिएको घटना अहिले सार्वजनिक भएको छ ।

प्रहरीले जनाए अनुसार उनी माथि सयौँ पटक बलात्कार भएको थियो । यी नै मध्येका आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

११ नोभेम्बरका दिन महाराष्ट्रको बीड जिल्लामा भएको यो घटनामा चाइल्ड वेलफेयर कमिटी (सिडब्लुसी)ले चासो लिई रहेको छ । यसका अध्यक्ष अभय भाथालरो भान्भेले दुई प्रहरीलाई समेत आरोप लगाएका छन् ।

भान्भेले दिएको जानकारी अनुसार सडकमा बसेर मागी रहेको समयमा तीन जनाले उनलाई जबरजस्ती गरेका थिए । यसपछि सयौँको सङ्ख्यामा उनी माथि जाईलागेका थिए । ती बालिका २५ जनाभन्दा बढीको पहिचान गर्न सक्छिन् ।

यसक्रममा आफूले टोकेको एक व्यक्तिको पहिचानसहित ती बालिकाले प्रहरीमा मुद्दा दर्ता गराउन प्रयास गरे पनि प्रहरीले मानेको थिएन ।

सोमबार प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार घटनामा आठ जनालाई गिरफ्तार गरिएको छ । यी मध्ये सात जनालाई जबरजस्ती करणीको मुद्दा लागेको छ । यसको टुङ्गो लाग्न लामो समय पनि लाग्न सक्नेछ । साथै बाल विवाहका लागि प्रेरित गरेको आरोपमा पनि केहीलाई मुद्दा लाग्ने छ ।

यसअघि नै उनी माथि हातपात गर्ने ३३ वर्षीय पुरुषसँग ती बालिकाको १३ वर्षको उमेरमा नै विवाह भएको थियो । आफ्नै बाबुबाट जबरजस्तीको प्रयास गरिएकी उनी यसै कारणले घर छाडेर बस स्टपमा बास बस्न पुगेकी थिइन् ।

महिला अधिकारकर्मी योगीता भहानीले घटनालाई आफूले थाहा पाए मध्येकै सबैभन्दा दु:खद बलात्कारको घटना भएको बताएकी छिन् । उनले प्रत्येक दिन एउटै हर्कत सहेकी ती बालीकाको संरक्षण गर्न प्रहरीले नै चासो नदिएको आरोप लगाएकी छन् । उनले हरेक अपराधीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएकी छन् ।

भारतको अपराध अनुसन्धान महाशाखाका अनुसार २०२०मा मात्र २८ हजार बलात्कारका घटनाको रिपोर्ट भएका छन् । यो औसतमा प्रत्येक १८ मिनेटमा एक बलात्कारको घटना हो । धेरै जानकारका अनुसार वास्तविक सङ्ख्या यो भन्दा धेरै बढी हुन सक्छ । धेरै जना पीडा सहेर पनि रिपोर्ट नगरेरै बसेका छन् ।

२०१२ मा भारतका भएको ग्याङ रेप केस र हत्याको घटनापछि प्रत्येक वर्ष यसको रिपोर्ट गर्नेको सङ्ख्या बढी रहेको छ । २०१२ पछि पीडित पक्षमा भने चेतना बढेको छ । साथै बलात्कारको बारेमा सार्वजनिक रूपमा आवाज उठाउने हिम्मत पनि बढको छ ।

सोही घटना पछि कानूनमा परिवर्तन मात्र भएन, यो घटनाको छिनोफानो लगाउन फास्ट ट्र्याकको क्रम पनि सुरुवात भएको छ । कानूनलाई नयाँ ढङ्गले व्याख्या पनि गरिन थालिएको छ ।

यसका बाबजुद भारतमा बलात्कारका दु:खद र सम्झँदा पनि कहाली लाग्दा घटनाहरू भईरहेका छन् । केन्द्रीय सरकारले फास्ट ट्र्याकको नीति लिए पनि तल्लो तहको प्रशासन पीडितको पक्षमा कमै रहने गरेको पाइएको छ । गत सेप्टेम्बरमा प्रहरीले ३३ जनालाई एक १५ वर्षीय बालीकालाई सामूहिक बलात्कार गरेको आरोपमा गिरफ्तार गरेको थियो ।

तत्कालीन समयमा त्यो घटना पनि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अत्यन्त चर्चाको विषय बनेको थियो ।

आफ्नै ब्वाइफ्रेन्डबाट पहिलो पटक बलात्कृत ती बालिकामाथि गिद्धे दृष्टि लगाउने सङ्ख्या थपिँदै गएको थियो । प्रहरीले लामो अध्ययन र अनुसन्धान पछि तिनीहरूलाई गिरफ्तार गरेको हो ।

ब्वाइ फ्रेन्डले बलात्कार गरेपछि ब्ल्याक मेल गरेरै अन्यले पनि सामूहिक बलात्कार गरेका थिए । यो क्रम नौ महिना चलेपछि गत सेप्टेम्बरमा बालिकाले प्रहरीमा उजुरी गरेकी हुन् ।

२०१२ मा भएको दिल्ली रेप काण्डले बदनाम भारतमा त्यसपछि यस्तै दु:खद घटनाले निरन्तरता पाउनुले धेरैलाई आश्चर्यमा पारेको छ । सोही घटनापछि भारतमा बलात्कार सम्बन्धी बलिया कानून बनेका हुन् ।

उत्तर प्रदेशमा १९ वर्षीया एक दलित बालिका माथिको बलात्कारको घटनाले पनि भारतमा त्यत्तिकै चर्चामा रहेको थियो ।

त्यहाँको समाजले नै अपराधलाई लुकाउन बल प्रयोग गर्ने भएका कारण दोषीलाई कारबाही गर्न कठिन भई रहेको स्थानीयहरू बताउँछन् । सो घटनामा पनि सयौँले प्रत्यक्ष देखे पनि अदालतमा बयानका लागि १५ जना मात्र उपस्थित भएका थिए ।

सो समयमा केही दिनसम्म पीडितका परिवारले कानूनी उपचारको ग्यारेन्टी नभएसम्म अन्त्येष्टि नगर्ने अडान राखेका थिए । केहीदिन पछि कानूनी प्रक्रिया अघि बढेपछि मात्र ती बालिकाको अन्त्येष्टि भएको थियो ।

सो घटनामा मुद्दा चलाइएका सन्दीप, लबकुस, रबी र रामु उपल्लो भनिने ठाकुर खानदानका हुन् । यी मध्येका तीन जना आफ्नै नातेदार भित्रका व्यक्ति पनि हुन् । पीडितकी आमा रमा देवी जातीय आधारमा पनि आफूहरू माथि उत्पीडन भईरहेको र दलित भएकै कारण प्रहरी प्रशासनले ढिला सुस्ती गरी रहेको आरोप लगाउँछिन् ।

पीडितका ५३ वर्षीय बाबु ओम प्रकाशले पनि कानूनी उपचारका लागि अन्तिम समयसम्म सङ्घर्ष गरी रहने जनाएका थिए ।

विगतमा यस्ता थुप्रै काण्डमा प्रहरीले ढिलासुस्ती गर्दा सामूहिक विरोधका कार्यक्रम भए पनि पछिल्ला वर्ष कोरोना महामारीका कारण सामूहिक जुलुस या प्रतिकार भएका छैनन् । कोभिड कालमै कानूनी प्रक्रियामा समेत ढिलाइ भई रहेको छ ।

कोरोना महामारीका कारण जबरजस्ती करणी मात्र होइन अन्य थुप्रै मुद्दा किनारा लाग्न लामो सय लाग्ने गरेको छ । २०२१ को सेप्टेम्बर महिनाको अन्त्यसम्म भारतको तल्लो अदालतमा ४ करोड मुद्दा विचाराधीन थिए ।

उत्तर प्रदेशको सोही घटनापछि ठाकुर समुदायले गाउँवासीलाई समुदायको इज्जत र प्रतिष्ठाको सवाल भन्दै गुपचुप गर्न दबाब दिएको पनि सञ्चार माध्यममा उल्लेख छ ।

त्यो घटना यत्ति दुखान्त बनेको थियो कि एउटा गाउँमा चार घर दलित थिए । उनीहरू माथि थुप्रै धम्कीहरू आएका थिए । यसै धम्कीकाबीच अदालतले सुरक्षाको कारण जनाएपछि प्रहरीको निगरानीमा पीडितको घर रहेको थियो ।

पीडितका परिवारकै सदस्य या अन्य कोही सो घरमा प्रवेश गर्न र घरबाट बाहिर निस्कन प्रहरीको अनुमति लिनु पर्थ्यो ।

सोही समयमा पीडितका ३० वर्षीय दाजु सुरेन्द्र कुमारले आफ्नो घर नै जेल जस्तो भएको प्रतिक्रिया दिएका थिए ।

यसको सुनुवाइ भई रहेको समयमा मार्च महिनामा पीडितका दाजु पर्ने एक कुसहवा थरका वकिललाई प्रतिवादी तर्फबाट अदालत परिसरमै अपहरणको प्रयास भएको थियो ।

यो घटनामा पीडित पक्षलाई मुख्य मन्त्री योगी आदित्य नाथले २५ लाख रुपैयाँ क्षतिपूर्तिका साथै परिवारका सदस्यलाई रोजगारी दिने बताए पनि रोजगारी भने दिइएको छैन ।

भारतमा बलात्कारको घटनालाई फास्ट ट्र्याकबाट सुनुवाइ गर्ने भनिए पनि सो घटनामा त्यस्तो भएको थिएन । पीडित पक्षधरले जातीय भेदभावको कारण यसो भएको आरोप लगाएका छन् ।

दलित अधिकारकर्मीहरू जातीय भेदभावकै कारण आफ्नो समुदाय माथि यसरी बलात्कारको घटना धेरै हुने गरेको बताउँदै आएका छन् ।

२०१६ देखि २०१९ को बिचमा उत्तर प्रदेशमा महिला हिंसा ६६.७७ प्रतिसतले बढेको पाइएको छ भने जातीय भेदभावका घटनामा २०.६७ प्रतिसतले वृद्धि भएको पाइएको छ ।

उत्तर प्रदेशको यो दर्दनाक घटना जस्तै भारतमा अन्य थुप्रै यसै खाले घटना भएका छन् । गत महिना एक महिलालाई बलात्कार गरेर रडले प्रहार गरे पछि उनको मृत्यु भएको थियो । यसै गरी, यसै महिनाको अगस्टमा दिल्लीमा नौ वर्षीया बालिकालाई ग्याङ रेपपछि हत्या गरिएको थियो ।

भारत विशाल मात्र होइन, बहु धार्मिक, बहु आयामिक र बहु सांस्कृतिक देश पनि हो । भारत र पूर्वेली संस्कृतिका थुप्रै गर्व गर्न लायक विषय पनि छन् । त्यही भारत महिला हिंसाका कारुणिक कथा र यो सँगै जोडिएर आउने गरेका जातीय विभेदका कारण बदनाम पनि हुँदैछ ।

विशाल भारतको तल्लो तहको सरकारी निकायको गैर जिम्मेवारी पनले यो अझ बढ्दो छ । खास गरेर उत्तरी क्षेत्रमा । यसलाई समयमै ध्यान नदिए यो नै भारतको थप बदनामीको कारण बन्ने त निश्चित नै छ ।

– विभिन्न एजेन्सीको सहयोगमा