समाचार

कैलालीमा बाढी पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा, राजमार्ग अवरुद्ध  

By खबरहब

October 19, 2021

धनगढी-लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार मङ्गलवार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ ।

खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली नदीमा पनि पानीको बहाव उच्च रहेको सञ्चार टोलीले जनाएको छ।

यसैगरी लगातारको वर्षाका कारण कैलालीको पहाडी क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको छ । कैलालीको फल्टुडेस्थित भीमदत्त राजमार्गमा पहिरो जाँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात प्रभावित बनेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको कैलाली प्रहरी प्रवक्ता डीसएसपी प्रतीक विष्टले बताए ।