सिटिजन बैंक लुटपाट आरोपित अन्य लुटपाटमा पनि संलग्न रहेको प्रहरीको दाबी

By खबरहब

October 19, 2021

काठमाडौँ– प्रहरीले मोरङस्थित सिटिजन बैंकको शाखामा लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरु मोरङमा भएका अन्य लुटपाटका घटनामासमेत संलग्न रहेको दाबी गरेको छ । प्रहरीले बैंक लुटपाटमा संलग्न थप एकजनालाई पक्राउ गरेपछि सो गिरोहबारे खुलासा भएको हो ।

बिराटनगर महानगरपालिका ७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई लुटपाट गरेको घटनामासमेत यही गिरोहका सदस्यहरुको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीले घटनामा श्याम मुखिया र भारतीय नागरिकहरु सुनिल यादव, बिजय सहनी र रोशन यादवको संलग्नता रहेको जनाएको छ । धनपालथान गाउँपालिका ४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज १० बस्ने २० वर्षीय रोशन यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ । साथै सोही घटनामा संलग्न अन्य ३ जनालाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो ।