राजनीति

चितवन पुगेर माधव नेपालले भने– एमाले इतिहासको विषय बन्दै छ

By खबरहब

November 19, 2021

चितवन– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्न लागेको टिप्पणी गरेका छन् ।

एमालेले चितवनमा हुन लागेको १०औँ महाधिवेशनको तयारी गरिरहेका बेला शुक्रबार चितवन पुगेका नेपालले अब एमाले इतिहासमा सीमित हुने बताए ।

जिल्ला पार्टी कार्यालय उद्घाटन र कार्यकर्तालाई प्रशिक्षण दिन चितवन आएका नेपालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै चुनावमा कसले कसलाई पछार्छ भन्ने कुरा राष्ट्रिय सभाको चुनावमा देखिसकेको बताए । आगामी चुनावमा पनि मिलेरै जाने उनले बताए ।

‘कतिपय पार्टी र नेताको सातो गइसकेको छ । होस् गुम भइसकेको छ’, उनले भने, ‘समाजवादीको नाम सुन्ने बित्तिकै काम्छन् । कसले कसलाई पछार्छ भन्ने कुरा त अस्तिकै राष्ट्रिय सभाको चुनावमा देखिसक्यो । पहिल्यै परीक्षण भइसकेको छ । एमाले इतिहासको विषय बन्दै छ ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले १५ कात्तिकमा चितवन आएर पाँच दलीय गठबन्धनलाई एमालेले धोबीले लुगा पछारेझैँ पछार्नुपर्ने बताएका थिए ।

एमालेको महाधिवेशनको विषयमा आफूलाई कुनै चासो नभएको नेपालले बताए । एमालेको महाधिवेशनमा पाहुना भएर जान आफूलाई समय पनि नरहेको उनले बताए ।

‘हामी डेमोक्रयाटिक पद्धतिबाट अघि बढ्ने मान्यता राखेको मान्छे । सबैको मान र सम्मान हुनुपर्छ भन्ने मान्यता राखेको मान्छे । त्यसो हुनाले नबोलाएको ठाउँमा पाहुना बन्नु हुँदैन । कसैको पाहुना हुनुपर्ने केही चासो छैन, मतलब पनि छैन । हामी आफ्नै काममा यति व्यस्त छौँ कि फुर्सदै छैन’, उनले भने ।

जनता र कार्यकर्ताहरूको आकर्षण आफ्नो पार्टीमा देखिएको भन्दै उनले पार्टीको विकास देखेर धेरै मानिसमा इर्ष्या देखिएको बताए । इर्ष्या भएरै आफूहरूलाई महाधिवेशनमा नबोलाउने कुरा एमालेले गरेको उनले संकेत गरे ।