राजनीति

प्रचण्डसँग अमेरिकी सहायक मन्त्रीको भेट, एमसीसीबारे छलफल

By खबरहब

November 19, 2021

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले एमसीसीको सुरुआती दस्तावेजमा परिवर्तन गर्दा विवाद निम्तिएको बताएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्रीले एमसीसी छिटो संसदबाट अनुमोदन हुनुपर्ने बताएका थिए । जवाफमा प्रचण्डले नेपालमा सो सम्झौतामा प्रश्न उठेको भन्दै सबै दलहरुबीच सहमति भएपछि अनुमोदन गर्दा सहज हुने बताएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले संसदमा दलहरुबीच एमसीसीमा मतविभाजन हुन सक्नेसमेत बताए ।

भेटमा नेपाल र अमेरिकाबीचको लामो द्विपक्षीय सम्बन्ध, कोभिड महामारीकालमा अमेरिकाले गरेको सहयोग, अमेरिकामा रहेका नेपालीको रोजगारी तथा सुरक्षाबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।

बुधबार काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेर एमसीसीबारे चासो राखेका थिए ।