फाइल फोटो

राजनीति

माओवादीकै कारण पहिचान र अधिकारको प्रत्याभूति : अध्यक्ष प्रचण्ड

By खबरहब

December 19, 2021

काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन् ।

किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किराँत र नेवार समुदायमा शुभकामना व्यक्त गर्दै उनले ‘सबै समुदायको हकअधिकार र पहिचानले नै राष्ट्रियता सदृढ हुन्छ’ भनेका छन्।

समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिको ठूलो योगदान रहँदै आएको स्मरण गरे ।

हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति भएको तथ्य पेश गर्दै उनले यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता भएको सन्देशमा उल्लेख गरे । अध्यक्ष प्रचण्डले यी र यस्ता पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गर्न सहयोग पुर्‍याउने जनाउँदै शुभकामना व्यक्त गरे ।