फाइल फोटो

राजनीति

संसद अवरोध हटाउन एमालेलाई सर्वदलीय बैठकको आह्वान

By खबरहब

December 19, 2021

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदको अवरोध हटाउन सर्वदलीय बैठकले आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका थिए । सो बैठकका निष्कर्षबारे सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरोध हटाएर संवादमा आउन आह्वान गरिएको बताए ।

उनले संसदीय लोकतन्त्रलाई जिवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण भए पनि त्यसको मतलब संसद चल्न नदिने भन्ने नहुने बताए ।

प्रतिपक्षी दल एमालेले उठाएका विषयमा छलफल गर्न सरकार तयार रहेको भन्दै मन्त्री कार्कीले संसदलाई बन्धक बनाउन नहुने सर्वदलीय बैठकले निष्कर्ष निकालेको बताए । उनले विरोध गर्ने र असहमति प्रकट गर्ने जननिर्वाचित थलो संसद भएको भन्दै त्यसलाई लामो समय बन्धक बनाउनु उपयुक्त नभएको बताए ।

नेकपा एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टी पनि सर्वदलीय बैठकमा सहभागी भएपछि एमाले अनुपस्थित रह्यो । सभामुख अग्नि सापकोटाले कारबाही गरिसकेका सांसदलाई पदमुक्त नगरेर एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ ।