स्टोरी

ओम्रिकान भेरियन्टका कारण युरोपको अवस्था जटिल बन्दै

By मनोज घिमिरे

December 20, 2021

काठमाडौँ– नयाँ किसिमको कोरोना भाइरसको भेरिअन्ट ओम्रिकान व्यापक फैलिएसँगै संसारका धेरै देशहरू फेरि लकडाउनको बाटोमा गएका छन् ।

यो भेरियन्टले युरोपमा नराम्रोसँग प्रभाव पारेको छ । यसरी प्रभावित भएपछि लकडाउन गर्ने पछिल्लो देश नेदरल्यान्ड बनेको छ । नेदरल्यान्डले आउँदै गरेको क्रिसमसलाई लक्षित गर्दै लकडाउन गर्ने निर्णय गरेको हो ।

आउँदो जनवरीको मध्यसम्ममा अति आवश्यक विषय बाहेक बार, जिम र सैलुन लगायत सबै क्षेत्रहरू बन्द गरिएका छन् । विदाको समयमा एक घरमा दुई जना पाहुनालाई वैध मानिएको छ । प्रधानमन्त्री मर्क रुटले सरकारले कायम गरेको यो मापदण्ड भङ्ग नहुने बताएका छन् ।

यो भेरियन्टमा एकदम छिटो म्युटेसन देखिएका कारण युरोप लगायत देशले कडा सुरक्षा मापदण्ड अपनाउन शुरु गरेका छन् । सरकारले जारी गरेका यी मापदण्ड आइतबारदेखि लागु भएका छन् । प्रधानमन्त्री रुटले पत्रकार सम्मेलनको आयोजना गर्दै नेदरल्यान्ड फेरि लकडाउनको बाटोमा गएको घोषणा गर्दा आफूलाई दु:ख लागेको बताएका छन् ।

लकडाउन अवधिभर सकेसम्म घरबाट बाहिर नजानका लागि अनुरोध गरिएको छ । १३ वर्ष उमेर पार भएका बढीमा दुई जनासम्म पाहुना एउटाका घरबाट अर्को घरमा प्रवेश पाउन सक्नेछन् । यो सङ्ख्या डिसेम्बर २४ देखि २६ को बीचमा बढाएर चार जनासम्म हुन सक्ने जनाइएको छ ।

मृत्यु संस्कारबाहेक अन्य कुनै कार्यक्रम आयोजना गर्न पाइने छैन । पसल, साप्ताहिक बजार र खेलमा कुनै दर्शक हुने छैनन् । सबै विद्यालय ९ जनवरीसम्म खुल्ला रहनेछ भने अन्य मापदण्ड १४ जनवरीसम्म कायम रहने छ  ।

त्यहाँका रेस्टुरेन्टहरूले खाद्य सामग्री बेच्न पाउने छन् । बसेर खानलाई छुट दिइएको छैन । प्रधानमन्त्री रुटले अर्को एक क्रिसमस धूमधामसँग मनाउन नपाउने घोषणा गर्दा जत्ति दुख लागे यो बाध्यकारी अवस्था भएको बताएका छन् । उनले सरकारको यो निर्णयलाई अवज्ञा गरे अस्पतालले थेग्नै नसक्ने अवस्था आउने जनाएका छन् ।

लकडाउनको हल्ला चलेदेखि नै शनिवार धेरै जना बजारमा गएर लामो समयका लागि खाद्य सामग्री तथा अति आवश्यक कुराको जोहो गरेका थिए । बजारमा भेटिएकी आयाम आसफरीले लकडाउन सुरु  हुनेबित्तिकै आफूहरू गिफ्ट लगायत सबै कुरा बजार गएर किनेको बताएकी छिन् । एक साताका लागि हस्पीटालिटी क्षेत्र र सांस्कृतिक क्षेत्रमा कर्फ्यु पनि लगाइएको छ ।

नेरदल्यान्डमा कोरोना भाइरस सुरु भएयता २९ लाख भन्दा बढी सङ्क्रमित भएको तथा २० हजार भन्दा बढीको ज्यान गएको तथ्याङ्क छ । अहिलेसम्म ओम्रिकान भेरियन्टको सङ्ख्या धेरै नदेखिए पनि यसको फैलने क्रम तीव्र देखिएको छ । नयाँ वर्ष सम्ममा यसको नेदरल्यान्डमा धेरै नै प्रभाव हुने अनुमान गरिएको छ ।

डच आउट ब्रेक म्यानेजमेन्टका प्रमुख जाप भान डेसाइले यो नयाँ सुरक्षा मापदण्ड  लागु गर्नुका साथै भ्याक्सिनका बुस्टर डोज र स्वास्थ्य संयन्त्रलाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । उनले जति धेरै व्यक्तिले भ्याक्सिन लगायो उत्ति नै धरै सुरक्षा मिल्ने जनाएका छन् । नेदरल्यान्डमा वयस्क मध्यका ८५ प्रतिशतले भ्याक्सिन लगाइ सकेका छन् ।

नौ प्रतिशतले मात्र बुस्टर डोज लगाएका छन् । स्वास्थ्य मन्त्री हुग डे जोंगले जनवरी ७ बाट हरेक वयस्कका लागि बुस्टर डोजको लागि मिति तय गरिने जनाएका छन् ।

यसरी ओम्रिकान  भेरियन्ट फैलिएसँग नयाँ सुरक्षा मापदण्ड अपनाउने अन्य युरोपेली मुलुकमा फ्रान्स,आयरल्यान्ड र जर्मनी पनि रहेका छन् । फ्रान्सेली प्रधानमन्त्री जियान टाक्सेटले अहिले युरोपमा रकेटको स्पिडमा फैलिरहेको यो भेरियन्टनै नयाँ वर्षको आगमनसँगै धेरै हाबी भइसक्ने बताएका छन् ।

अहिले फ्रान्सले ओम्रिकान धेरै फैलिएको देशबाट यात्रा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । यसमा बेलायत प्रमुख रहेको छ । बेलायतमा एकै दिन २५ हजार भन्दा बढी ओम्रिकान भेरियन्टका सङ्क्रमित भेटिइसकेका छन् । युरोपमा हालसम्म कोरोनाका कारण १५ लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

बेलायतमा भने एकपछि गर्दै सङ्क्रमण उत्कर्षमा पुगे पनि सरकारी बेवास्ता कायम रहको जन गुनासो सुनिन थालेको छ । सरकारको कुनै निर्देशन नभए पनि थुप्रै व्यवसाय बन्द हुन थालेका छन् । स्वास्थ्य सावधानीका मानिसहरूको आगमन नै कम हनु थालेपछि थुप्रै रेस्टुरेन्ट बन्द गरिएका छन् ।

एकातिर कोरोना नै समस्या बनिरहेको समयमा अन्य गतिविधि पनि ठप्प भएपछि त्यहाँको आर्थिक अवस्था नै चलायमान हुन नसक्ने हो कि भन्ने चिन्तामा सरकार रहेको छ । अहिले धेरै जनाले क्रिसमसमा खर्च गर्ने सोचसहित पैसा जम्मा गरेर राखेका थिए । यसरी जम्मा गरेको पैसा क्रिसमसको समयमा पनि खर्च नहुने भएको छ ।

बेलायतका अर्थमन्त्री ऋषि सुनाक त्यहाँका हस्पीटालिटी क्षेत्रमा व्यक्तिहरूसँग सल्लाहमा जुटे पनि ठोस उपाय निस्कन सकेको छैन । सरकारले रोगको जोखिम  लिएर बजारमा किनमेल गर्न जानका लागि र क्रिसमस मनाउनका लागि आफ्नो नागरिकलाई भन्न सकेको छैन । सुनाकले सरकारले जनतालाई व्यवसाय बन्द गर्न नभनेको बताएका छन् ।

बेलायतको रेस्टुरेन्टमा मङ्गलवार २४ प्रतिशत तथा बुधवार २२ प्रतिशत पहिलेको तुलनामा बुकिङ घटेको छ । यस व्यवसायमा काम गर्नेहरू आफ्नो सहकर्मी धेरै सङ्क्रमित भएको चिन्ताले पनि त्यत्तिकै अत्तालिएका छन् ।

साउथ लन्डनका फेर्जा वाइनका प्रमुख बास रेड फोर्ड आफ्नो टिमका कोही पनि बिरामी नभए हुन्थ्यो भन्ने नै पहिलो प्राथमिकताको विषय भएको बताउँछन् । उनको नेतृत्वमा रहेको ३१ जनाको टोलीमा दुई जना हालै सङ्क्रमित भएका छन् । यसपछि उनले रेस्टुरेन्ट क्रिसमससम्मका लागि बन्द गरेका छन् । उनको चासो पनि क्रिसमस आफ्नै परिवारसँग घरमा बसेर मनाउन पाउनु नै सबैभन्दा महत्त्वपूर्ण हो ।

अहिले रेस्टुरेन्ट मात्र होइन, अन्य व्यवसाय पनि धरापमा परेका छन् । केही दिनअघि हल मालिकहरूले सामूहिक रूपमा आफ्नो आवाज राखिसकेका छन् । बेलायतमा अहिले एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित भेटिन थालिसकेका छन् । चिकित्सकहरूका अनुसार डेल्टा भेरियन्ट एउटा स्थानमा स्थिर रहने गर्थ्यो भने ओम्रिकान एकदमै छिटो गतिमा नयाँ उत्कर्षमा पुग्ने गर्छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अहिले धेरै कडाइका मापदण्ड लागु गर्न इच्छुक देखिएका छैनन् । तर उनले वर्क फ्रम होमलाई प्राथमिकता दिन थालेका छन् । क्लब तथा ठुला समारोहमा प्रवेश गर्नका लागि भ्याक्सिनका प्रमाण अनिवार्य गरिएका छन् । प्रधानमन्त्रीको यो नीतिमा रेस्टुरेन्ट व्यवसायी खुशी छैनन् । पूरै लकडाउन गरेरै भए पनि क्षतिपूर्ति दिँदा उपयुक्त हुन्छ भन्ने नै उनीहरूको मत छ ।

युबीएस ग्लोबल वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री पाउला डोनोभान क्रिसमसको पूर्वसन्ध्यामा यसरी सङ्क्रमण बढ्नुले आर्थिक अवस्थालाई नै खलबल पारेको बताउँछन् । बेलायतमा अक्टोबरमा कुल गार्हस्थ्य उत्पादनमा ०.१ प्रतिशतले वृद्धि भएको थियो । तर, यो महामारी कालभन्दा ०.५ प्रतिशतले कमी हो ।

रेस्टुरेन्ट समयमै बन्द गरे पनि उनीहरूले कामदारलाई तलब दिनैपर्ने हुन्छ । यसरी तलब नदिएमा यसले कर्मचारीको जीवनमा नै अप्ठेरो हुनेछ । यो समस्याको सही समाधान पत्ता लगाउन सरकारका लागि समेत कठिन बनेको छ । फोर्जा वाइनका रेड फोर्ड भने अहिलेसम्म आत्तिनुपर्ने अवस्था नआइसकेको बताउँछन् । उनको कम्पनीले जनवरी र फेब्रुअरी महिनाको तलब दिन अहिले नै तयार गरिसकेको छ ।

ओम्रिकानको नयाँ भेरियन्टका कारण अहिले. संसारका धेरै देशमा प्रभाव परेको छ । यस प्रभावलाई कम गर्न अमेरिकी राष्ट्रपति जो वाइडेनले मङ्गलवार सम्बोधन गर्दैछन् । यसपटक वाइडेनले भ्याक्सिनलाई बढी गम्भीरतापूर्वक लिएर सबैलाई भ्याक्सिनकै कारण मात्र महामारी मुक्त हुन सकिने कुरामा जोड दिँदै नयाँ कदम चाल्ने सम्भावना देखिएको छ ।

यो महामारीको समयमा आएको नयाँ भेरियन्टले संसारका धेरै देशमा अर्को लहर थपिसकेको छ । अर्को लहरको महामारी रोक्नका लागि सरकारका सबै देशले अहिले नै शतर्कता अपनाउनुको विकल्प छैन ।