देशको प्रजातान्त्रिक आन्दोलनलाई अगुवाइ गर्दै आएको जेठो दल नेपाली काङ्ग्रेसले आफ्नो चौधौं महाधिवेशन सम्पन्न गरेको छ । जसरी पनि परिवर्तनको प्रमुख नारासहित यसपटकको महायज्ञमा होमिने काङ्ग्रेसी प्रतिनिधिहरूले निर्वाचनमार्फत मिश्रित मतादेश दिएका छन् ।
एकातर्फ तेह्रौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाप्रति फेरि आफ्नो विश्वास दोहोर्याई यथास्थितिको निरन्तर पृष्ठपोषण गरेको छ भने अर्कातर्फ परिवर्तनलाई एजेन्डा बनाउने धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्मालाई जिताएर पुस्तान्तरणका लागि बलियो समर्थन पनि जनाएको देखिन्छ । यसैगरी केन्द्रीय सदस्यहरूको निर्वाचन पनि मिश्रित परिणाम दिने खालको देखिन्छ ।
यसपटकको महाधिवेशनले काँग्रेसलाई यथास्थिति कै निरन्तर प्रवाहमा राखेको छ अथवा परिवर्तनको संवाहक बनाउने प्रयत्न गरेका हुन् भन्नेबारे बुझ्न विगतदेखिका केही घटनाक्रम र नेताहरूको वक्तव्यलाई विवेचना गर्नुपर्ने हुन्छ ।
पछिल्लो एकवर्षदेखि मिति सार्दै आएको काङ्ग्रेसी नेतृत्वलाई निर्वाचन आयोगले अन्तिम समयसीमा तोकिदिएपछि यो महाधिवेशन गरिएको थियो । जसमा तत्कालीन सभापति देउवालाई पुनः सभापतिमा दोहोर्याउन तथा उनलाई जसरी पनि हटाउनुपर्छ भन्ने नारासहित अन्य प्रतिस्पर्धी हरु मैदानमा थिए । विगत एक वर्षदेखि सभापति देउवाविरुद्ध एकजुट भएर जानुपर्ने प्रयासलाई मूर्तरूप दिन अन्य नेताबीच विभिन्न चरणको छलफल पनि भयो ।
तत्कालीन उप–सभापति रामचन्द्र पौडेलले उमेर हदका कारण आफ्नो अन्तिम अवसर भएकाले सहयोगको अपेक्षा गरे र प्रकाशमान सिंहले छोड्ने भए आफ्नो सहयोग र समर्थन रहने आश्वासन कोइराला पक्षबाट दिइयो । यति हुँदाहुँदै पनि कुरो मिलेन । अन्ततः नेता पौडेलको अश्रुपूरित बहिर्गमन भयो । काङ्ग्रेसको इतिहासमा आँसु झार्दै विदा हुने नेताहरूमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि रामचन्द्र पौडेल पनि थपिएका छन् ।
शेरबहादुर देउवाविरुद्ध उम्मेदवार चयन गर्ने क्रममा कोइरालाहरुको बीचमा धेरैपटक बैठक बसेर पनि मन मिल्न सकेन । न त बीपी पुत्र शशांक ले छोड्न माने न गिरिजा पुत्री सुजाताले नै छोड्न मानिन् । जबकि, निर्वाचनमा भाग लिँदा शशांकले केन्द्रीय सदस्य र सुजाताले उपसभापतिमा उम्मेदवारी दिएका थिए ।
कोइराला पक्षले एकमत भएर शेखर कोइरालालाई समर्थन गरेको भए नेपाली काङ्ग्रेसको महाधिवेशन फरक ढंगले अगाडि बढ्न सक्थ्यो । जे होस्, अन्ततः उम्मेदवारी दर्ता गराउने समयसम्म आइपुग्दा शेरबहादुर बहादुर देउवाको विरोधमा डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि देखा परे । यीमध्ये प्रकाशमान र विमलेन्द्र निधि विगतका देउवा पक्षधर हुन् ।
सदाबहार नेता कृष्णप्रसाद सिटौलाद्वारा आफ्नो पुरानो शैलीलाई कायम राख्दै सभापति देउवा सँग भागबण्डा मिलाए । र, देउवालाई समर्थन गरे । जसको कारण महामन्त्रीसहित केही महत्वपूर्ण भूमिकाबाट लाभान्वित सिटौलालाई आवश्यकताभन्दा बढी महत्व दिएको भनी प्रधानमन्त्री देउवाका कतिपय मन्त्रीहरूबाट समेत असन्तुष्टि व्यक्त भयो ।
यति हुँदाहुँदै पनि कुरो मिलेन । अन्ततः नेता पौडेलको अश्रुपूरित बहिर्गमन भयो । काङ्ग्रेसको इतिहासमा आँसु झार्दै विदा हुने नेताहरूमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि रामचन्द्र पौडेल पनि थपिएका छन् ।
यसैको प्रतिक्रिया स्वरुप सभापति शेरबहादुर देउवाद्वारा आफू पराजित भएको खण्डमा प्रधानमन्त्री प समेत त्याग्नुपर्छ भन्ने अभिव्यक्ति आएको थियो । यो मन्त्रीहरूलाई एकप्रकारको चेतावनीसमेत थियो ।
उम्मेदवारी दर्ता गराउने क्रममा आ–आफ्ना प्यानल गठन गरिएको समाचार मात्र नभई औपचारिक रूपमै सभापतिको दाबेदारहरूले टिमको लिस्ट जारी गरेका थिए । यी प्यानलहरूको अध्ययन गर्दा देउवा विरुद्ध डा. शेखर कोइराला मात्र रहेको स्पष्ट देखिन सकिन्थ्यो ।
प्रकाशमान सिंहलाई महामन्त्रीका उम्मेदवारका रूपमा पार्टी प्रवक्ता भइसकेका विश्वप्रकाश शर्माले सहयोग गरेका थिए भने निधिको खासै टिम नै थिएन भन्दा पनि हुन्छ ।
तथापि सिंह र निधिद्वारा पहिलो चरणको मतदानमा देउवा विरुद्ध कस्सिएर अभिव्यक्ति दिइरहने काम जारी रहयो । तत्कालका लागि देउवा को विरोध देखिए पनि दुवैले डा. शेखर कोइरालाले एकमुस्ट पाउन सक्ने समर्थनलाई विभाजित तुल्याउने काम मात्र गरेका थिए ।
किनभने पहिलो चरणमा सभापतिबारे कुनै परिणाम आउन नसक्ने र दोस्रो चरणमा सबै मिलेर देउवालाई हराउने प्रष्टीकरण प्रकाशमान र विमलेन्द्रद्वारा मतदान स्थलमा बारम्बार दिइएको थियो तर परिणाम घोषित भएको केही घण्टाभित्रै दुवै नेताले सभापति पदका लागि शेरबहादुर देउवालाई समर्थन जनाए ।
आफ्नै समर्थकहरूलाई विरोध गर्न लगाई विपक्षी मत विभाजित गराएर रणनीतिक रुपमा सभापति देउवा सफल भएका छन् । अर्थात् काङ्ग्रेसको भावी राजनीतिलाई यथास्थितिको निरन्तर अभ्यास भन्न सकिन्छ । तर, परिवर्तन र पुस्तान्तरणको नारा दिने गगन थापा, धनराज गुरुङ र विश्वप्रकाश शर्माको पनि विजय भएको छ । यसलाई कसरी बुझ्ने ?
प्यानल लिस्टअनुसार धनराज गुरुङ र गगन थापाले डा. शेखर कोइरालालाई समर्थन जनाएका थिए जब कि, विश्वप्रकाश शर्मालाई प्रकाशमान सिंहको सहयोग थियो । पछिल्लो केही समयदेखि सभापति देउवाको आलोचना गर्दै आएका विश्वप्रकाशले यही कारण देखाई आफू दोस्रो चरणमा देउवालाई समर्थन गरेको जनाए । उनले व्यापक आलोचना पनि खेपे ।
तर पनि युवा नेताहरू निर्वाचित हुँदा काङ्ग्रेसभित्र उत्साह थपिएको देखिन्छ । विश्लेषक र टिप्पणीलाई अध्ययन गर्दा काङ्ग्रेसमा पुस्तान्तरण स्वीकार्य भएको तर्क छ तर के साँच्चै त्यही भएको हो अथवा महाधिवेशन प्रतिनिधिहरूले बहुचर्चित र प्रखर वक्ताहरु तथा भविष्यमा सहयोग गर्न सक्षमलाई अगाडि सारेको परिणाम हो यो ।
अर्थात् काङ्ग्रेसको भावी राजनीतिलाई यथास्थितिको निरन्तर अभ्यास भन्न सकिन्छ । तर, परिवर्तन र पुस्तान्तरणको नारा दिने गगन थापा, धनराज गुरुङ र विश्वप्रकाश शर्माको पनि विजय भएको छ । यसलाई कसरी बुझ्ने ?
सँगसँगै नेपाली काङ्ग्रेसको स्थायी भोटबैंक अर्थात् मधेसको अवस्थालाई कसरी आँकलन गर्ने । विमलेन्द्र निधिका साथै उपसभापति पदका महत्वपूर्ण उम्मेदवार विजयकुमार गच्छदारलाई यसपटक अस्वीकार गरिएको छ ।
हुन त महेन्द्र यादवलाई जिताएर पुस्तान्तरणको सन्दर्भलाई जोड्न सकिन्छ तर त्यति मात्रले काङ्ग्रेसलाई मधेस राजनीति सम्बोधन गराउन पुग्छ त ?
समग्र रुपमा काङ्ग्रेस महाधिवेशनलाई विश्लेषण गर्ने हो भने प्रजातान्त्रिक अभ्यासको निरन्तर पृष्ठपोषण र सभापति शेरबहादुर देउवाको रणनीतिक सफल भएको छ । यसका अतिरिक्त ६० बर्ष भन्दा कम उमेरको पदाधिकारीलाई बहुमत दिएर महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई विधि र प्रक्रियाबाट सञ्चालन गर्न जनादेश दिएका छन् । गगन थापा, धनराज र विश्वप्रकाश हरुको परिक्षण प्रारम्भ भएको छ ।
अहिलेसम्म प्रश्न गरेर चर्चित बन्दै आएका यी युवा नेताहरूप्रति नेपाली जनताले पनि आशा गरेको देखिन्छ । विगत केही समयदेखि एलिटहरुको क्लब जस्तो बन्न पुगेको काङ्ग्रेसलाई फेरि एकपटक सामान्य जनताको प्रतिनिधित्व गर्ने सु–अवसर जुटेको छ ।
कृष्णप्रसाद सिटौलालाई यो महाधिवेशनले अप्रासंगिक बनाउनुका साथै गुटबन्दी र प्यानल लिस्टलाई अस्वीकार गरिदिएको छ ।
चुनौती थपिए पनि अवसरको प्रचुर सम्भावनालाई नेपाली काङ्ग्रेसको नवनिर्वाचित समितिले कसरी व्यवस्थापन गर्छ भने हेर्न बाँकी नै छ । यसको शुरुवात केन्द्रीय समितिमा मनोनयन हुनसक्ने पात्रहरूको चयनमा पनि देखिनेछ ।