क्रिकेट

आईपीएलमा कोलकाताको शानदार जित

By खबरहब

September 21, 2021

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ ।

आबुधाबीमा सोमबार राति कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९ विकेटको जित निकालेको हो ।

बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले मात्र १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाउँदा भेन्काटेस आयर ४१ रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए । ग्लेन म्याक्सवेल १० रनमा आउट भए । कप्तान विराट कोहली ५ रनमा आउट भए ।

कोलकाताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

जितसँगै कोलकाता ८ खेलमा ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ ।