वि.सं. २०६८ को तथ्यांकअनुसार दश वटा धार्मिक समुदाय छन्; हिन्दू, बौद्ध, इस्लाम, किरात, क्रिस्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख । आगामी जनगणनाको मुख्य प्रश्नावलीमा तिनै धर्मका संकेत (कोड नम्बर) राखिएका छन् । जनसांख्यिक फारामको महलमा ‘… ले कुन धर्म मान्नु हुन्छ ?’ प्रश्न समावेश गरिएको छ ।
जनगणनाको प्रमुख उद्देश्य जनसंख्याको प्रवृत्ति र विशेषताहरूको बारेमा जानकारी प्राप्त गर्नु र लोककल्याणको लागि योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्न आवधिक रूपमा जनसांख्यिक तथ्याङ्क तथा सूचक उपलब्ध गराउनु हो ।
केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । यस्तो जनगणना वि.सं. १९६८ मा सुरू भएको हो । यसको बाह्रौँ शृंखला अर्थात राष्ट्रिय जनगणना, २०७८ आगामी कार्तिक २५ देखि मंसिर ९ मा हुँदैछ । घरपरिवार सूचीकरण सुरु भइसकेको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट अनुसार नेपालको जनसंख्या ३ करोड ४ लाख ६७ नाघिसकेको छ ।
संघीय संरचनामा जनगणनाबाट प्राप्त हुने तथ्याङ्क संघ, प्रदेश र स्थानीय तहका सरकारको लागि आधारभूत तथ्याङ्कको स्रोत हुनेछ ।
राष्ट्रिय योजना निर्माण र सामाजिक जीवनलाई महत्वपूर्ण योगदान गर्ने जनगणना पछिल्लो समयमा विवादास्पद तथा अविश्वसनीय हुने गरेको छ ।
राज्यलाई निरन्तर पृष्ठपोषण उपलब्ध गराउन आम प्रयोगकर्ताहरू बुद्धिजीवी, राजनीतिकर्मी, समाजसेवी, सञ्चारकर्मी, उद्योगपति, व्यापारी, प्राज्ञिक वर्ग, जनसंख्या विज्ञ, अनुसन्धानकर्ता, समाजशास्त्री, योजनाकार, अर्थविज्ञ, शिक्षक, विद्यार्थी, लगायत आम नागरिकले जनगणनाबाट प्राप्त तथ्याङ्क प्रयोग गर्दछन् । यसका अतिरिक्त अन्तर्राष्ट्रिय जगतले पनि जनगणनाको तथ्याङ्क प्रयोग गर्दछन् प्रष्टीकरण केन्द्रीय तथ्याङ्क विभागको छ ।
नेपाल सरकारले विगतमा स्थगित जनगणना कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णयसहित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार यही भदौ ३० गतेबाट सूचीकरण गर्दै मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सम्पन्न गराउने लक्ष्य छ । त्यसपछि विभागले राष्ट्रिय जनगणनाको तथ्यांक प्रशोधन र प्रकाशन गर्नेछ ।
राष्ट्रिय योजना निर्माण र सामाजिक जीवनलाई महत्वपूर्ण योगदान गर्ने जनगणना पछिल्लो समयमा विवादास्पद तथा अविश्वसनीय हुने गरेको छ । जनगणनामा तथ्याङ्क सङ्कलनको क्रममा पूर्वाग्रही ढङ्गले प्रभावित तुल्याउने गरेको शंका पनि हुने गरेको छ । जनगणनामा प्रस्तुत लामो विवरण मध्ये जनसंख्या, धार्मिक आस्था र जातीय क्लस्टरबारे जनताको बढी चासो हुनेगर्दछ । यस परिप्रेक्ष्यमा धर्मनिरपेक्षतालाई औपचारिक बनाइएपछि हिन्दु धर्मावलम्बीहरूको घट्दो विवरण आफैँमा अनौठो बन्दै गएको देखिन्छ ।
वि.सं. २०६८ को जनगणना भन्दा पहिले कायम रहेका हिन्दूहरूलाई त्यसपटकदेखि बोन, प्रकृति पूजक लगायतमा विभाजित गरिएको थियो जसलाई यसपटकबाट ‘मस्टो’ पनि थपिएको छ । समाजवादको नाममा वामपन्थीकरण हुँदै गरेको राजनीतिले हिन्दुत्वप्रति कठोर रवैया अवलम्बन गरेको देखिन्छ ।
धर्मलाई अफीम मान्ने तथाकथित स्वघोषित अग्रगमनकारीहरूले हिन्दु आस्थालाई प्रतिकारको विषय बनाएका छन् ।
बितेको साउनमा नदीमा अर्पण गरिएको दूधबारे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटरमार्फत कटाक्ष गरे । हुनत डा. भट्टराईले हिन्दुत्वप्रति कटाक्ष गर्नु कुनै नौलो कुरा होइन । यसको आलोचना गर्दै धेरैले उनको दिल्ली स्थित जवाहरलाल नेहरू विश्वविद्यालय सँगको विशेष साइनोलाई कारक मान्ने गरेका छन् ।
नदीमा प्रवाहित गरिएको दूधलाई जलमा रहेका जीवजन्तुले उपभोग गर्न पाउँछन् । दुर्भाग्य ! हाम्रा परम्पराहरूको अध्ययन गर्न सक्ने विज्ञान पढाइँदैन, जुन पढाइन्छ त्यसले हाम्रो परम्परा बुझ्न सक्दैन ।
साउनमा हरियो घाँसपातमा कीट फट्याङ्ग्रहरूको व्यापक वृद्धि हुने गर्दछ । आयुर्वेद अनुसार गाईभैँसी लगायतका पशुले सो खाने गर्दा उनीबाट उत्पादित दूधमा विषाणु बढेको हुनाले उक्त दूध र दुग्धजन्य उत्पादहरू खान निषेध गरिन्छ ।
यस अतिरिक्त वर्षायाममा दूधमा अम्लपित्त पनि बढेको हुन्छ । त्यसर्थ विषतुल्य दूध खाँदा लाग्न सक्ने रोगबाट जोगाउन तर निरर्थकरूपमा दूध फ्याँकिनबाट रोक्न हाम्रो पूर्वजले त्यसको व्यवस्थापन गर्न सिकाएका हुन् ।
यसरी नदीमा प्रवाहित गरिएको दूधलाई जलमा रहेका जीवजन्तुले उपभोग गर्न पाउँछन् । दुर्भाग्य ! हाम्रा परम्पराहरूको अध्ययन गर्न सक्ने विज्ञान पढाइँदैन, जुन पढाइन्छ त्यसले हाम्रो परम्परा बुझ्न सक्दैन । हाम्रा परम्परा र संस्कृति विज्ञानसम्मत छन् र हामी सदैव वैज्ञानिक जीवनयापन गर्दै आएका छौँ । यसैगरी पछिल्लो पटक डा. भट्टराईले निर्माण कार्यका देवता विश्वकर्माबारे विवादास्पद ट्वीटर टिप्पणी गरे अनि कडाप्रतिवाद पनि पाए ।
नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिका लागि उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गर्दै पार्टी नेता विमलेन्द्र निधिले काठमाडौँमा सम्पर्क कार्यालय स्थापित गरे जसको उद्घाटन गर्ने अवसरमा जनकपुरका सन्त महन्तहरूको बाक्लो उपस्थिति थियो । यसबारे जिज्ञासाको जवाफ दिँदै निधिले हिन्दुराष्ट्रप्रति कुनै प्रकारको समर्थन दिन नसक्ने बताएर आफूलाई खाँटी धर्मनिरपेक्ष देखाउन खोजे ।
कांग्रेसभित्रका हिन्दुत्व समर्थकहरूलाई पशुपतिनाथ, दक्षिणकाली, जानकी मन्दिर लगायतका देवस्थलमा नेपाली कांग्रेसको झण्डा फहराएर देखाउन उनले चुनौतीपूर्ण कटाक्ष समेत गरे ।
संयोगवश नेपालका प्रमुख राजनीतिक दलहरूले निकट भविष्यमा महाधिवेशन गरानुउपर्ने अवस्था छ । यसअनुसार पछिल्लो महाधिवेशनमा समेत नेपाली कांग्रेसभित्र बहुसंख्यक प्रतिनिधिद्वारा हस्ताक्षरित हिन्दु राष्ट्रको मुद्दा नेतृत्वले जबर्जस्ती प्रवेश गर्न नदिए पनि यसपटक त्यसलाई रोक्न सहज छैन ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले विभिन्न ठाउँबाट आफ्नो सम्बोधनको क्रममा हिन्दुराष्ट्रको माग उठेको स्वीकारेका छन् । कांग्रेस र एमालेभित्र हिन्दुत्वको मुद्दा बलियो बन्दै गएको देखेर पनि त्यसलाई जनगणनाको पूर्वाग्रही तथ्याङ्कमार्फत धूमिल पार्ने षड्यन्त्र भएको हुनसक्छ ।
धर्मनिरपेक्षताको प्रवेशसँगै हिन्दुधर्मको महलमा कलस्टर थपेर विभाजित गरी संख्यात्मक रूपमा न्यूनतम देखाउने षड्यन्त्रपूर्ण प्रयासले यसपटक पनि निरन्तरता पाएको देखिन्छ ।
नेपालको राजनीतिमा जाति र धर्मको प्रभाव तथा प्रतिनिधित्व बढ्दै गएकोले अधिकांश दल आफ्नो क्षेत्र र जातिलाई प्राथमिकता दिनु नै सत्ताको प्रमुख कार्य मान्न थालेका छन् । यसै पनि लोकतंत्र भनेको संख्याको खेल हो र हरेक राजनेतालाई देशभित्र आफ्नो जातीय संख्याबारे उत्सुकता थपिएको छ । जातीय समीकरण चुनावमा विजय सुनिश्चित गराउन महत्वपूर्ण हतियार मानिन्छ र यसको भरपर्दो जानकारी जनगणनाबाट प्राप्त हुन्छ ।
वि.सं. २०६८ को जनगणनामा हिन्दु धर्मलाई विभाजित गरिए पनि ईसाई र इस्लामलाई विभाजित पारिएको छैन । जबकि ईसाईहरूमा क्याथोलिक, प्रोटेस्टेन्ट, आर्थोडोक्स, मारोनी, एवनजीलक भनेर छुट्टाछुट्टै बस्ने गरेका छन् । यहाँसम्म कि यिनिहरू एकअर्काको गिर्जाघर (चर्च) मा प्रार्थना गर्न जाँदैन ।
यसैगरी इस्लाम धर्ममा शिया, सुन्नी र अहमदियाहरू हुन्छन् । यिनको मतभेद हेर्ने हो भने इरान, इराक, सिरिया लगायतका इस्लामिक देशहरूमा प्रायःहुने युद्धहरू यही दुवै बीच हुनेगर्दछ । तथापि केन्द्रीय तथ्याङ्क विभाग कालागि शिया, सुन्नी र अहमदिया हरू सबै मुस्लिम हुन भने क्याथोलिक, प्रोटेस्टेन्ट, आर्थोडोक्स, मारोनी, एवनजीलक भनेको इसाई मात्र हुन् ।
वैदिक सनातन परम्परागत प्रकृतिलाई सर्वोपरि मानेर उपासना गर्दै आएका बहुसंख्ययक हिन्दु समाजलाई विभाजित गरी मनोबल कमजोर पार्ने प्रयास स्वयं राज्य पक्षबाट हुनु दुर्भाग्यपूर्ण र विभाजनकारी देखिन्छ । जसको प्रतिवादमा धेरैले सामाजिक सञ्जालमार्फत चेतना अभियान समेत सञ्चालन गरेको पाइन्छ ।
जनगणना प्रक्रियाद्वारा सांख्यिकीय स्वरूप बुझ्न सकिन्छ । यी सूचनाहरूको उपयोग सरकारी, गैरसरकारी, प्रशासनिक नीति निर्धारण, शोधपत्र, आर्थिक–सामाजिक र विकाससम्बन्धी विभिन्न योजनाहरूको निर्णय गर्न प्रयुक्त हुन्छ ।
कहिलेकाहीँ जनगणनाबाट समाजमा अनपेक्षित विवाद थपेर विभक्त मानसिक अवस्था सिर्जित गराउने सम्भावना हुने गर्दछ । धर्मनिरपेक्षताको प्रवेशसँगै हिन्दुधर्मको महलमा कलस्टर थपेर विभाजित गरी संख्यात्मक रूपमा न्यूनतम देखाउने षड्यन्त्रपूर्ण प्रयासले यसपटक पनि निरन्तरता पाएको देखिन्छ ।
यही क्रम जारी रहयो भने भविष्यको जनगणना हुँदा जातीय गणनालाई पनि धर्मको महलमा राख्दै ब्राह्मण धर्म, क्षेत्री धर्म लगायत समावेश गरी ‘हिन्दूधर्म’ नामक प्रश्नावली नै विस्थापित हुने बेर छैन ।
त्यसैले समयमै जागरूक हुन जरुरी छ ।