खेलकुद

एएफसी महिला एसियन छनोट : नेपालले हङकङसँग भिड्दै, जित्नै पर्ने दबाब

By खबरहब

September 21, 2021

काठमाडौँ – एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम आज हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ ।

प्रशिक्षक ग्यारी फिलिप्सले हङकङविरुद्ध समेत पहिलो खेलकै सुरुवाती एघार खेलाउन सक्छन् । पहिलो खेलमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेसँगै उनले सुरुवाती एघारलाई नै निरन्तरता दिन सक्छन् ।

समूह एफ मा फिलिपिन्स तीन अंक सहित शीर्षस्थानमा छ । समूहको शीर्ष टोली भारतमा हुने एएफसी महिला एसियन कपमा छनोट हुनेछ ।