राजनीति

राष्ट्रियसभामा एमालेको आक्रोश- संसदमा ‘गुरिल्ला’ अभ्यास भयो

By खबरहब

September 21, 2021

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमा ‘गुरिल्ला’ अभ्यास भएको भन्दै आक्रोश पोखेको छ ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएको समयमा मन्तव्य राख्दै एमाले सांसद देवेन्द्र दाहालले सरकारले संसदमा ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश पोखे ।

सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच जवरजस्ती वजेट अध्यादेश अघि बढाउँदा अर्थमन्त्री जनार्दन शर्माले मर्यादा नाघेको उनको आरोप लगाए ।

‘संसदीय अभ्यासमा मर्यादा हुन्छ, बजेटको प्रतिस्थापन अध्यादेश पेस गर्नुपूर्व अर्थमन्त्रीको आसन कुनामा थियो, अझ बजेट पेस गर्न त उहाँ कुदेर नै रोष्ट्रममा पुग्नु भयो । भन्न पनि अप्ठ्यारो लागेको छ  तर भन्नै पर्छ उहाँले गुरिल्ला शैली अपनाउनुभयो’, दाहालले भने ।

उनले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकार ढाल्नुको कारण पुष्टि गर्न नसकेको पनि आरोप लगाए ।

‘यो सरकारले अघिल्लो सरकार ढाल्नुको औचित्य पुष्टि गर्न सकेको छैन । यो सरकार संविधान ध्वस्त बनाउन लागेको छ’, दाहालले भने, ‘यो सरकार नै होइन स्वार्थीहरुको झुण्ड मात्रै हो।’

दाहालले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको पनि आरोप लगाए । सरकारको लापरबाहीले देश बजेट शून्यता रहेको पनि उनले बताए ।

दिउँसो १ बजे बसेको बैठकमा एमाले सांसदको अवरोधबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित आएको विनियोजन विधेयकसम्बन्धी प्रस्ताव टेबुल गर्न अनुमति दिएका छन् ।