आर्थिक

नेपालको ३० प्रतिशत बजार ओगटेको म्याक कफीको दाबी

By खबरहब

September 21, 2021

काठमाडौँ– मल्टिनेसनल ब्राण्ड ‘म्याक कफी’ ले १३ वर्षमा ३० प्रतिशत नेपाली बजार ओगटेको दाबी गरेको छ । सन् २००८ मा नेपालमा बिक्री सुरु भएको म्याक कफी अहिले ६० वटा डिलरमार्फत नेपालभर उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

नेपाल बाहिर ८० भन्दा बढी देशमा बजार विस्तार भएको र हरेक वर्ष बिक्री बढ्दै गएको ‘म्याक कफी’ का कन्ट्री म्यानेजर रामकृष्ण अधिकारीले बताए । उनले भने, ‘म्याक कफीको माग बढिरहेको छ । गत वर्षमात्रै २५ प्रतिशत बढी बिक्री भयो ।’

सिङ्गापुरको ब्राण्ड म्याक कफी मलेसियाको उद्योगबाट नेपालमा आयात हुने गरेको छ । यो ब्रान्डको ‘थ्री इन वान रेन्ज’, ‘ब्ल्याक कफी रेन्ज’, ‘टी रेन्ज’, ‘ब्रेक फास्ट रेन्ज’ मा बजारमा उपलब्ध रहेको अधिकारीको भनाइ छ । उनका अनुसार म्याक कफीले रुसमा ९० प्रतिशत बजार ओगटेको छ ।