समाचार

हत्या अभियोगमा कुवेतकी महिलालाई १० वर्ष जेल

By खबरहब

November 21, 2021

दोहा – घरेलु कामदार यातना दिएर हत्या गरेको अभियोगमा कुवेतकी महिलालाई १० वर्ष जेल सजाय सुनाएको छ ।

कुवेतको फौजदारी अदालतले घरेलु कामदारलाई यातना दिएको अभियोगमा कुवेतकी एक महिलालाई दश वर्ष कैद र उनका श्रीमानलाई एक वर्षको जेल सजाय सुनाएको हो ।

पीडितको कमजोरीको फाइदा उठाउँदै उनीहरूमाथि मानव बेचबिखन, घरेलु कामदारमाथि हिंसा र जबरजस्ती काम लगाएको अभियोगमा मुद्दा दायर गरिएको फौजदारी अदालतलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

कुवेतकी महिलामाथि घरेलु कामदारलाई बारम्बार कुटपिट र यातना दिएर शरीर भरी आगो लगाएको र लामो समयसम्म शरीरमा चोटपटक लगाउने, काम गर्न बाध्य पारेको र हिंसा गरी मृत्यु भएको अभियोग लगाइएको थियो ।

हत्या गरिएकी कामदारबारे केही खुलाइएको छैन भने १० वर्ष जेल सजाय तोकिएकी कुवेतकी महिलाको पनि परिचय गोप्य राखिएको छ ।

कुवेतमा पछिल्लो समय महिला घरेलु कामदारमाथि समयमा पारिश्रमिक नदिने, कुटपिट गर्न, यौन हिंसा तथा करार अवधि सकिए पनि घर नपठाउने गरेको त्यहाँ घरेलु कामदारको रूपमा काम गर्ने नेपाली महिलाहरूले बताउने गरेका छन् ।